डोल्पा । हिमाली जिल्ला डोल्पामा एक महिनादेखि ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम गरिरहेको छैन। टावरले काम नगर्दा नागरिकले सास्ती खेपिरहेका छन्। जिल्लाका दुनै र जुफाल लगायतका ठाउँहरूमा राखिएका नमस्ते तथा स्काइका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा चुस्त दुरूस्त नहुँदा सञ्चारमा अवरोध भइरहेको छ।
छिनमै देखिने, छिनमै हराउने र कुरै नबुझिने फोन तथा इन्टरनेट सेवाका कारण एक मिनेट कुरा गर्न पनि घण्टौं कुर्नुपर्ने सर्वसाधारणले बताए। मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायाले फोनले काम गर्न छोडेको लामो समय भएपनि सुधारका लागि अझै प्रयास नभएको बताए।
लामो समयदेखि गुणस्तर खस्केको टेलिफोन तथा इन्टरनेट सेवाका कारण जिल्लाका सरकारी तथा तथा गैह्र सरकारी कार्यालयको सेवा प्रवाह समेत प्रभावित भएको छ। कमजोर सेवाका कारण हैरान भएपछि नागरिक,स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू आफैँ दुरसञ्चार कार्यालय धाउन थालेका छन्।
ुफोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ,मिनेटमै हुने कामका लागि पनि घण्टौं कुरेर पनि हुँदैन,ु डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पंगेनीले गुनासो गरे। जिल्लामा बाँडिएको एडीएसएल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंक शाखाहरूमा भीडभाड लाग्ने गरेको छ।
अनलाइन कक्षाका प्रयोगकर्ताहरू बढेका कारण डोल्पाको फोन तथा इन्टरनेट सेवा कमजोर भएको दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ। नेपाल टेलिकम क्षेत्रीय कार्यालय, नेपालगञ्जको टोली डोल्पा आइसकेकाले छिट्टै सुधार हुने आशा रहेको प्राविधिक नवराज भट्टराईले जानकारी दिए।
नेपालीरैबार । २०७७ पुष १२, आईतवार