अनेकौं संघर्षकाबीच भाग्यले व्यवसायमा डोर्‍यायो

हरेक व्यक्तिको सफलतापछि अनेकौं संघर्षको कथा जोडिएको हुन्छ । जसले जिन्दगीमा संघर्ष गर्छ अवश्य उसलाई सफलता पनि मिल्छ । कुनै पनि कामको शिलशिलामा बाधा अप्ठ्यारा परिस्थिति पनि आउँछन् । तर जो बाधा अप्ठ्यारा परिस्थितिसँग सामना गरेर अघि बढ्छ उसलाई सिकाइ मात्रै हुँदैन । आफूले चाहेको प्रतिफल प्राप्त गर्ने अवसर पनि मिल्छ । हरेक व्यक्तिको जिन्दगीमा भिन्नभिन्न कथा, परिस्थिति हुन्छन् । यस्तै अनेकौं संघर्षबिच हुर्किएका एक सफल व्यवसायी हुन्ः प्रकाशकुमार तिमिल्सेना । प्रदेश रैबारकर्मीले तयार पारेको प्रकाशकुमारको जीवन भोगाइ र व्यवसायिक अनुभव सारांश ः

बाल्यकाल
साविक दैलेख चामुण्डा गाविस–८ मा जन्मिएका प्रकाशकुमारको बाल्यकाल गाउँमै बित्यो । मध्यम परिवारमा जन्मिएका उनी घरायासी कामसँगै अध्ययन गर्न थाले । बाल्यकालमा साथीभाईसँग गाउँमा रमाएकोदेखि मेलापात गरेको उनीसँग अनुभव छ । तर देशमा चलेको सशस्त्र द्वन्द्वका कारण आफ्नो अध्ययन तथा घरपरिवारमा असरपरेको उनीसँग तितो अनुभव छ ।

गाउँ नजिकैको चामुण्डा उच्च माविमा कक्षा १० सम्म अध्ययन गरेका उनले एसएलसी दुल्लूबाट उत्तीर्ण गरेका हुन् । व्याचलर लेवलको पढाइ सकेका उनले जीवनमा अनेकौं संघर्ष गर्दै अघि बढेका
हुन् । हाल व्यवसायमा होमिएका प्रकाशकुमारको बाल्यकालको सपना शिक्षक बन्ने थियो । तर उनलाई भाग्यले धेरै मेहेनत र संघर्षपछि एक सफल व्यवसायी बनाएको छ ।

व्यवसायिक यात्रा
२०५६ सालदेखि सुर्खेत झरेका उनी भन्छन्, ‘पहिले पहिले डोकोमा तरकारी तथा फलफूल बोकेर बजार खोज्दै भौतारीनेदेखि फलफूल पसल सञ्चालन गर्नेलाई समाजले फरक दृष्टिकोणले हेथ्र्यो । कतिपयले समाजमा अन्य कुनै विकल्प नपाएकाहरु तरकारी तथा फलफूल बेच्छन् भनेझै पनि गथ्र्ये । तर अहिले समय उल्टो छ । तरकारी तथा फलफूल व्यवसाय सबैको ईज्जतिलो पेशा बनेको छ । आफ्नै पौरखले बारीमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषकदेखि बजारमा बेच्ने व्यापारीसम्म सम्मानित हुन थालेका छन् ।’

विगत १० वर्ष यता तरकारी व्यवसाय गर्दै आएका प्रकाशकुमार तिमिल्सेनाले फलफूल व्यवसायबाट निकै सन्तुष्ट भएको बताउँछन् । ‘पहिलेको तुलनामा दिन प्रतिदिन उपभोग ह्वात्तै बढ्दैछ । सधैं अर्काको अण्डरमा बसेर जागिर खानुभन्दा स्वइच्छाले स्वतन्त्र भएर व्यवसाय गर्नुमा छुट्टै आनन्द छ’ उनले भने । स्थायी जागिर समेत छोडेका उनले एक दशक यता बुलबुले सब्जिमण्डी वीरेन्द्रनगर सुर्खेतमा प्रकाश फलफूल मण्डी सञ्चालन गरेका हुन् ।

व्यापारमा चुनौती
प्रकाशकुमारले सञ्चालन गरेको फलफूल मण्डीमा सबै प्रकारका फलफूल पाइन्छन् । सिजन अनुसारका फलफूल होलसेल तथा थोक बिक्री हुन्छ । फलफूलमा जतिकै फाइदा छ । त्यतिनै चुनौती रहेको उनले बताए । ‘समयमै फलफूल बेच्न नसके कुहिएर खेर जान्छ । उत्पादन र बजारीकणमा तालमेल मिलेको छैन । यस तर्फ कृषक र व्यापारीले मात्रै सोचेर हुदैन । राज्यले पनि ध्यान दिनुपर्छ’ उनले भने, ‘तरकारी तथा फलफूल उत्पादनमा बजारीकरणलाई व्यवस्थीत बनाउने हो भने कृषक र व्यापारी मात्रै आत्मनिर्भर बन्दैनन् राज्यको अर्थतन्त्र पनि बलियो हुन्छ ।’

उनले सञ्चालन गरेको मण्डीमा कर्णाली प्रदेशसँगै, सुदूरपश्चिम र प्रदेश ५ का विभिन्न ठाउँबाट फलफूल आयात हुन्छ । नयाँ–नयाँ कृषकबाट फलफूल खरिद गर्दा केही झण्झट हुने गरेको उनको भनाइ छ ।

कोरोना माहामारीले घाटा
विगतका वर्षको तुलनामा यस वर्ष कोरोना माहामारीका कारण लकडाउन हुँदा व्यवसायमा ७५ प्रतिशत घाटा लागेको तिमिल्सेनाले बताए । ६० हजारबाट व्यवसाय सुरु गरेका उनी अहिले करोडौंका मालिक बनेका छन् ।

भने १० जना बढीलाई रोजगारी समेत दिएका छन् । कोरोना जस्ता माहामारीका कारण व्यवसाय घाटामा जाँदा उत्पादन गर्ने कृषकलाई समेत असर परेको उनको भनाइ छ । उनका अनुसार कृषकले व्यवसायिक रुपमा ठूलो परिणाममा तरकारी तथा फलफूल उत्पादन गरे बजारको अभाव छैन ।

स्थायी जागिर छोड्दा
अध्ययनले बीएडसम्म पढेका प्रकाशकुमारले विद्यार्थी राजनीतिमा नेविसंघसँग आबद्ध भएर शिक्षा क्याम्पस इकाई कमिटीको सचिवसम्म बने । रोजगारीको खोजिमा २०५९ अघि दुई वर्ष सडक विभागमा समेत काम गरेको उनीसँग अनुभव छ । २०५९÷०६० मा नेपाल आर्मीको जागिर खाएका उनी जागिर नै छोडेर अहेब पढे । अनेकौं जीवन संघर्षको क्रममा धेरै उतारचडाव भए पनि प्रकाशकुमारको घरमा कहिल्यै खान लगाउनको समस्या भएन ।

‘जब स्थायी जागिर छोडेर व्यवसाय गर्न थाले । तब मेरो मन स्थीर भयो । भने आम्दानी पनि बढ्दै गयो । आम्दानीको केही रकम यसै व्यवसायमा लगानी गर्छु । बचेकोले घर खर्च चलाउँछु’ उनले थपे, ‘यही व्यवसायबाट वीरेन्द्रनगरमा घरघडेरी जोडेको छु । परिवारलाई खुशी दिएको छु । अबको योजना उद्योग सञ्चालन गर्नेछ । उद्योग सञ्चालन गरेर फलफूलबाट जुसदेखि वाइनसम्म सुर्खेतमै बनाउने योजनामा छु ।’

तपाईको प्रतिक्रिया