सुर्खेत । अधिकांश व्यक्तिले घर तथा ठुला होटलमा महंगो खर्च गर्दै आफ्नो जन्मदिन मनाउने गर्दछन् । आफ्नो खुसीका लागि जन्मदिनको अवसरमा अनावश्यक धेरै खर्च गर्नेदेखि एक छाक खान नपाएर भोकै सुत्ने व्यक्तिसम्म समाजमा धेरै भेटिन्छन् । तर तीनै भोका, गरिब तथा सहाराविहिनहरुलाई एक छाक खाना खुवाएर वा थोरै सहयोग गरेर पनि आत्म सन्तुष्टि लिन सकिन्छ भन्ने मनकारी व्यक्तिहरुको कमि छ ।
यसैबिच युवा धिरेन्द्रबहादुर शाहीले आत्म सन्तुष्टि र समाजमा दुख परेकालाई सहयोग गर्नुपर्छ भन्ने उदाहरण दिन आफ्नो जन्मदिन सहाराविहिनहरुसँग मनाएका छन् । साझा घर नेपाल सुर्खेतमा रहेका सहाराविहिन बालबालिका तथा अभिभावकसँग बसेर उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
आईएमइ लाईफ ईन्स्योरेन्स क्षेत्रिय शाखा प्रमुख समेत रहेका शाहीले जन्मदिनको अवसरमा साझा घरमा रहेका सबैलाई पुग्ने गरी मञ्जन, ब्रस, कपडा धुने तथा नुहाउने साबुनका पेटी, चिउरा लगाएतका सामाग्री सहयोग गरेका छन् । उनको सहयोगले साझा घरमा बसेका सहाराविहिनहरु खुसी भएका छन् । जन्मदिन सहाराविहिनहरुसँग मनाउन पाउँदा खुसी लागेको उनले बताए ।
साझा घरका सेवक विनोद चौलागाईका अनुसार ५२ जना सहाराविहिनलाई साझा घरमा राखिएको छ । भने हालसम्म १८ जनालाई परिवारसँग पुर्नमिलन तथा पुर्नस्थापना गराईएको छ । उनले भने, ‘सबैको एक एक मुठी सहयोगले साझा घर चलेको हो । सँझै सहयोगको खाँचो छ । धिरेन्द्रबहादुर जस्ता मनकारीहरुले जन्म दिन यसरी मनाई दिएको भए थोरै भएपनि राहात हुनेथियो ।’
नेपालीरैबार । २०७७ पुष २९, बुधबार