कोरोना संक्रमित महिलामाथि दुर्व्यवहार हुँदा प्रधानमन्त्रीले दिए राजीनामा

 

उलानबातर (एजेन्सी)। मंगलोलियाका प्रधानमन्त्री खुरेलसुख उख्नाले पदबाट राजीनामा दिएका छन्। मंगोलियामा कोरोना संक्रमित एक महिलामाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनले राजीनामा दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भिडियोमा एक महिला नवजात शिशु काखमा च्यापेर माइनस २५ डिग्री सेल्सियसको चिसोमा अस्पतालका पाताला कपडा र प्लास्टिकको चप्पलसँगै देखिएकी थिइन् ।

यो भिडियो भाइरल भएसँगै मंगोलियाको राजधानी उलानबातरमा प्रदर्शन शुरु भएको थियो। प्रदर्शन शुरु भएपछि प्रधानमन्त्रीले संसदमा राजीनामा बुझाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

समाचार अनुसार राजीनामा पत्रमा प्रधानमन्त्रीले ती महिलामाथि भएको दुर्व्यवहारको जिम्मेवारी आफूले लिने बताएका छन् । तर, संसद्ले उनको राजीनामा भने स्वीकार गरिनसेको बताइएको छ।

प्रधानमन्त्रीले राजीनामा दिनुअघि सोही प्रकरणलाई लिएर उपप्रधानमन्त्री र स्वास्थ्य विभागका उच्च अधिकारीले राजीनामा दिइसकेको जनाइएको छ। मंगोलियामा सुत्केरी महिलालाई एक महिनाभन्दा पहिला घरबाट चिसो निकाल्न नपाइने, चिसो खानेकुरा दिन नपाइने परम्परा रहेको छ ।

३० लाख जनसंख्या रहेको मंगोलिया कोरोना महामारी विरुद्ध सफलतापूर्वक लड्ने एक मुलुक हो । जसको विश्वस्वास्थ्य संगठनले पनि प्रशंसा गरेको थियो । मंगोलियामा हालसम्म १५ सयभन्दा धेरै मानिसहरु संक्रमित भएका छन् भने मृत्यु भएको छैन ।

तपाईको प्रतिक्रिया