सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालू आव २०७७/७८ को ६ महिनामा तरकारी तथा फलफूलमा १ अर्ब ३६ करोड रुपैयाँको कारोबार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले संकलन गरेको अर्थ बजारको तथ्यांकलाई हेर्दा ६ महिनामा १ अर्ब ३६ करोड ७९ लाख २ हजार ६०० रुपैयाँ कारोबार भएको पाइएको हो ।
मूलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैंची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोबारलाई पहिलोपटक तथ्यांकमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
‘हामीले सुर्खेत जिल्लामा पहिलोपटक लिएको फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोबार हो,’ निर्देशक रोकायले भने, ‘उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोबार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्यांकले देखाएको छ ।’
‘सुर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोबार तेब्बरले भएको देखिन्छ,’ उनले भने ।
नेपालीरैबार । २०७७ माघ २७, मंगलवार