बुटवलकाे जनसभामा कहाँबाट आए यति धेरै जनता ?

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा शनिवार विशाल जनसभामार्फत शक्ति प्रदर्शन गर्‍यो । काठमाडौंमा भएको सभामा ओलीले बृहत् सभा हेर्न बुटवल आउनु भनेर आफूबाट छुट्टिएर गएका प्रचण्ड–नेपाललाई भनेका थिए ।

ओलीले भनेजस्तै बुटवलमा शनिवार आयोजित बृहत् जनसभामा हजारौं कार्यकता सहभागी भए । पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो ।

बुटवलका हरेक सभाले राष्ट्रिय महत्त्व राख्छ । आज शनिवारको सभाले पनि त्यस्तै देखायो । शनिवारको सभाले नेकपा ओली समूहलाई देशमा आफूहरू शक्तिशाली भएको विश्लेषण गराउँदै हौस्याएको देखिन्छ ।

बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी माविको खेल मैदानमा राखिएको सभामा कार्यकता खचाखच भरिएर बजारको बीचमा रहेको सभास्थलमा पुग्न कार्यकतालाई हम्मेहम्मे पर्‍यो । सभास्थल बाहिर, सुख्खानगर, मिलनचोकदेखि हाटबजारसम्म जनता भरिए ।

नेकपा रुपन्देहीका युवा नेता गोपाल रानाले आफूहरूले सोचेजस्तै मानिसहरू सहभागी भएको बताए । उनले भने, ‘हामीले २ लाख मानिस उतार्ने भनेका थियौ । त्यति नै मानिसहरु आए । बुटवलको आजको सभाले सबै जनता ओलीको पक्षमा छन् भन्ने प्रमाणित गर्‍यो ।’

सभाको सन्देशबाट आगामी वैशाख १७ र २७ गतेको निर्वाचनमा आफूहरू केन्द्रित भएको रानाले बताए । नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको आमसभाबाट ओली समूह हौसिएको छ ।

सभालाई सम्बेधन गर्दै ओलीले भने, ‘सभा कस्तो हुन्छ । कार्यकर्ता कता छन् भनेर बुटवलको सभा हेर्न आग्रह गर्छु । कार्यकर्ता कसको पक्षमा छन् ? पार्टी छाडेर जानेहरू हेर्नुहोस् ।’

शनिवारको सभामा रुपन्देहीबाट १ लाखभन्दा बढी जनता सहभागी रहेका नेकपाको आकलन छ । प्रदेशका अन्य जिल्लाबाट ५० हजारभन्दा बढी जनता आएको राना बताउँछन् । गृहजिल्ला रुपन्देही भएका पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको रुपन्देहीमा प्रभाव बढी छ ।

पौडेलकै पहलमा भएका विकास निर्माणले धेरै आयोजनाहरू अगाडि बढेका छन् । पौडेलकै योगदान र प्रभावले पनि शनिवारको कार्यक्रममा बढी जनता सहभागी भएका बताइएको छ ।

सभामा बोलका सबै नेताले सभामा सहभागी जनतालाई धन्यवाद दिए । ओली समूहले दाङमा सभा गरेको थिए । तर त्यहाँभन्दा बुटवलमा उल्लेख्य कार्यकर्र्ता सहभागी भए । गत माघ १५ गते बुटवलमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभामा पनि नेता कार्यकर्ता उल्लेख्य थिए ।

नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले केही नेताहरू पार्टी छाडेर गए पनि कार्यकर्ता माउ पार्टीमै रहेका आजको सभाबाट जनताले सन्देश दिएको बताए ।

तपाईको प्रतिक्रिया