२४ जना विपन्न नागरिकको निःशुल्क मोतिविन्दु शल्यक्रिया

सुर्खेत । कर्णाली प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमै ठूलो संख्यामा मोतिविन्दु भएका विरामीहरु भेटिएका छन् । स्वास्थ्य चौकी जर्बुटाको आयोजनामा प्राथमिक आखाँ उपचार शिविरमा मात्रै २४ जनाले शल्यक्रिया गरेपछि यो तथ्य बाहिरिएको हो ।


वर्षौंदेखि आर्थिक अभावमा आँखाको उपचार गर्न नसकेर अन्धकारमा बस्न बाध्य नागरिकहरुलाई स्वास्थ्य चौकी र सुर्खेत आँखा अस्पतालले ५०÷५० प्रतिशतमा खर्च व्यहोरेपछि मोतिबिन्दुको शल्यक्रिया गरिएको हो । शिविरमा दुई सय ८५ जनाभन्दा बढीले आँखाको उपचार गराएका थिए ।

यीमध्य २४ जनालाई नजिक हेर्ने चश्मा सशुल्क वितरण गरिएको छ । शिविरमा तत्काल मोतिबिन्दुको शल्यक्रियाका लागि छनौट भएका ३३ जना मध्ये २४ जनाको मध्यबिन्दुको शल्यक्रिया सम्पन्न भएको स्वास्थ्य चौकी जर्वुटाका प्रमुख नविन भुषालले जानकारी दिए ।

उनकाअनुसार बाँकी नागरिकहरुको पनि शल्यक्रिया गरिनेछ । मोतिबिन्दु भएका सबै विरामीलाई आँखा अस्पतालसम्म आउन–जान औषधि खर्च, ल्याब खर्च र शल्य क्रियाको आधा शुल्क १३ नं वडा कार्यालय र बाँकी खर्च सुर्खेत आँखा अस्पतालने व्यहोर्ने भुसालको भनाई छ ।

यसअघि पनि स्वास्थ्य चौकी जर्बुटाको पहलमा समुदाय स्तरका थुप्रै कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । वीरेन्द्रनगर नगरपालिका–१३ जर्वुटा अन्तर्गतका ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गरेर ज्येष्ठ नागरिकहरूको घर टोलमै गएर उनीहरूको रगतमा चिनीको मात्रा, रक्तचाप, दम लगायत विभिन्न किसिमका नसर्ने तथा दीर्घरोगहरूको जाँच उपचार तथा परामर्श सेवा सञ्चालन भइरहेको छ ।

साथै यसअघि पनि वीरेन्द्रनगरमै पहिलो पटक सुत्केरी आमाहरुलाई लोकल कुखुराको भालेसहितको सुत्केरी पोषण कोसेली वितरण भएको थियो । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ अन्तर्गतका नागरिकहरूको मागलाई मध्यनजर गर्दै आवश्यकता अनुसार अन्य थुप्रै सेवाहरु तथा शिविरहरूको आयोजना गर्ने लक्ष्य रहेको भुसालको भनाई छ ।

तपाईको प्रतिक्रिया