सुर्खेत ; कर्णालीमा यतिबेला एउटा न्यायको आन्दोलन चलिरहेको छ, जसलाई संघीय राजधानी काठमाडौंले ध्यान दिन सकिरहेको छैन । हेर्दा सानो संख्याजस्तो लाग्ने बादी समुदायको भूमि उपलब्धतालगायत माग उपेक्षा गर्न नमिल्ने खालका छन् । हिजो आइतबार त उनीहरूमाथि प्रहरी दमन नै भयो । काठमाडौंमा बस्ती जोगाउन संघर्षरत नेवार समुदाय र कर्णालीमा बास मागिरहेको बादी समुदाय दुवै यो देशका नागरिक हुन् ।
बादी समुदाय को हो ?
पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जातिभित्रको सीमान्तकृत समुदाय हो । नेपालको जनगणना २०६८ का अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरी यो समुदायको कुल जनसंख्या ३८ हजार छ । यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा स-सानो संख्यामा बस्दै आएका छन् । इतिहासकारहरूका अनुसार भारतबाट १४ सय शताब्दीमा राजा रजौटाहरूको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए । तत्कालीन राजा रजौटा र जमिनदारलाई मनोरञ्जन दिन बादीलाई प्रयोग गरिन्थ्यो । आधुनिकतासँगै बादी समुदायको वाद्यवादन र नाचगान पेसा छायामा पर्दै गयो ।
बादीअगुवा तथा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य विष्णु बादी भन्छन्, ‘हामी भारतको वैशालीबाट लिच्छवीकालमा नेपाल छिरेको भन्ने सुनेका छौँ । त्यो बेला नेपालका राजा महाराजा तथा पछिल्ला चरणमा राणाकाल र त्यसपछि गाउँ-गाउँका मुखियालाई मनोरञ्जन दिने काम हाम्रै समुदायबाट भएको छ ।’
राजा महाराजाको दरबारका पटाङ्गिनी र खोपीमा मात्रै होइन, जनताको घरमा पनि यो समुदायले सेवा गर्दै आयो । गाउँमा बिहेवारी तथा भोजभतेरमा नाच्न गाउनका लागि वाद्यवादन तथा संगीतमा बादी समुदायलाई प्रयोग गर्ने गरिएको विष्णु बादीले बताए । ‘अहिलेजस्तो आधुनिकता त्यो बेला थिएन । अहिले बजारमा आधुनिक प्रविधि भित्रिइसकेकाले अहिलेका सबै समुदाय मानिसले गाउँछन्, नाच्छन् । त्यो बेला गाउने नाच्ने एक मात्र बादी समुदाय थियो,’ उनी भन्छन्, ‘अहिले सामाज आधुनिकतामा मोडियो । जसले गर्दा हाम्रो परम्परागत पेसा संकटमा पर्यो । हाम्राे जग्गाजमिन नभएकाले अहिले खान र बस्न समस्या भएको छ ।’राजा, राणा हुँदै पञ्चालयतकालसम्म नाचगानमा नै व्यस्त रहे पनि २०४६ सालको प्रजातन्त्रपछि भने यो समुदायमा नाचगान खुम्चिँदै गएको र देशका विभिन्न भागमा मनोरञ्जन दिने सञ्चारमाध्यम स्थापना भएपछि उनीहरूको पेसा संकटमा परेकाे देखिन्छ ।
यौनव्यवसायमा जान बाध्य, अहिले छैन
पेसामा संकट आएपछि बादी समुदायका महिलाहरू बाध्यतावश यौन व्यवसायमा लागेको पाइन्छ । यौन व्यवसाय सरकारले पूर्ण रूपमा बन्द गरेपछि यो समुदायले नदी र खोलामा माछा मार्ने, गिट्टी बालुवा चालेर जीविकोपार्जन गर्ने गरेको बादीअगुवा हिक्मत बादी बताउँछन् ।‘हाम्रो समुदायका महिला लैंगिक उत्पीडन भोग्दै हामीले जीविर्कोपार्जन गर्न थाल्यौँ,’ उनी भन्छन्, ‘बाध्यतावश त्यस्तो पेसामा लाग्नुपर्ने अवस्था आयो । अहिले त्यो पेसामा हाम्रा महिला छैनन् । तर, अब भोकै रहनुपर्ने अवस्था आयो भने पुन: देहव्यापारमै लाग्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।’
लामो समयदेखि राजा महाराजा, मुखिया तथा जमिनदारको यौन शोषणमा परेकाले हाल यो समुदायलाई यौन हिंसामुक्त समुदायको रूपमा घोषणा गरिएको छ । रेडियो, टेपरेकर्डर, सिनेमा आदि बजारमा आएकाले बादी समुदायको पेसा संकटमा परेको र आर्थिक अवस्था कमजोर भएको कालीकोट पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा समाजका अध्यता चन्द्रप्रसाद कोइराला बताउँछन् ।
‘उतिबेला गाउँका धनाढ्यहरूलाई बादी महिलाको अस्मितामा खेल्न सजिलो भयो, ’ उनी भन्छन्, ‘नाच्दै गाउँदै गाउँ-गाउँ डुल्ने समुदाय आर्थिक संकटमा परेपछि उनीहरू अहिले खोला किनारमा बसेर माछा मार्ने, गिट्टी बालुवा चाल्ने काम गर्छन् ।’
जनआन्दोलनपछि मुक्तिको चेतना आयो
२०६२-६३ को जनआन्दोलनपछि बादी समुदाय गाँस र बासको माग गर्दै काठमाडौंमा आन्दोलनमा उत्रियो । देशभरका बादी समुदाय काठमाडौंमा आन्दोलनमा उत्रिएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र बादी समुदायबीच समझदारी भयो । र, उनीहरूको आवास निर्माण सरकारले गर्ने सहमति भयो । बादी समुदायको जीविर्कोपार्जनका लागि ‘बादी समुदाय उत्थान विकास समिति (गठन) आदेश, २०६८’ सरकारले ल्यायो ।त्यसपछि जनता आवास कार्यक्रमअन्तर्गत बादी समुदाय बसेकाे ठाउँमा पाँच धुर जमिनमा दुई कोठाको घर निर्माण गरिएको भए पनि समस्या ज्युँका त्युँ रहेकाले अहिले पुनः केही काम गरेर खान पाऊँ भनेर आन्दोलनमा उत्रिएको बादी समुदायका अगुवाहरूले बताउने गरेका छन् ।
सरकारले बादी समुदायको उत्थानसम्बन्धी काम गर्न बादी समुदाय उत्थान विकास समिति गठन गर्ने भने पनि हालसम्म त्यो गठन भएको छैन ।
किन भइरहेको छ आन्दोलन ?
स्थानीय विकासमन्त्री वा राज्यमन्त्री अध्यक्ष रहने र बादी समुदायको विकासको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका बादी समुदायका व्यक्तिमध्येबाट सरकारबाट मनोनीत एक जना उपाध्यक्षसहित सात सदस्यीय समिति बनाउने भनिए पनि अहिलेसम्म उक्त समिति गठन हुन सकेको छैन ।बादी समुदाय उत्थान विकास समिति (गठन) आदेश, २०६८’ ले बादी समुदायलाई परम्परादेखि नाचगानलगायतका व्यवसाय सञ्चालन गरी सोही व्यवसाय र पहिचानका आधारमा जीविकोपार्जन गरिरहेका आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेका उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदाय सम्झनुपर्छ’ भनेको छ । सरकारले भनेअनुसारको काम नगरेकाले फेरि आन्दोलनमा उत्रिनुपरेको बादी संघर्ष समिति दैलेखका अध्यक्ष प्रेम बादीले बताए ।
समुदायको विकासका लागि बनेका नीति कार्यान्वयन गर्न आवश्यक योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने, बादी समुदायको व्यवस्थित बसोबासका लागि बस्ती विकास एवं पुनर्स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने आदेशमा उल्लेख छ । तर, त्यो योजना कार्यान्वयनमा नआउँदा आफूहरू आन्दोलनमा आउनुपरेको बादी समुदायका अगुवाहरू बताउँछन् ।
अरु सरोकार के छन् ?
आफ्नो समुदायको उत्थानसम्बन्धमा जानकारी आदानप्रदान गर्न सञ्जाल स्थापना र बिस्तार गर्ने, बादी समुदायसम्बन्धी अध्ययन, अनुसन्धान गरी प्रकाशन र प्रसारण गर्ने-गराउने, बादी समुदायको विकासका लागि प्राप्त हुने रकमलाई एकीकृत गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नेजस्ता माग बादीहरूले राखेका छन् ।बादी समुदायका व्यक्तिलाई छात्रवृत्ति उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गर्ने, बादी समुदायको कार्यक्षमता वृद्धि गर्ने प्रयोजनका लागि आवश्यक सीप विकास तथा आयआर्जनसम्बन्धी तालिम सञ्चालन गर्ने-गराउने, बादी समुदायसँग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन गर्ने-गराउने मुद्दा पनि उनीहरूले उठाएका छन् ।
त्यसैगरी, समितिको वार्षिक बजेट तथा कार्यक्रम तयार गरी स्वीकृतिका लागि सरकारसमक्ष पेस गर्ने, समितिका लागि आवश्यक स्रोत तथा साधनको व्यवस्था गर्ने माग पनि बादी समुदायले उठाएका छन् ।बादी समुदायसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयनका लागि पहल गर्ने, बादी समुदायको उत्थान र विकासका लागि काम गर्न माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।
नेपालीरैबार । २०७७ फाल्गुन १७, सोमबार