चीन र रुस मिलेर चन्द्रमामा स्पेस स्टेशन निर्माणको घोषणा

बीबीसी । चीन र रुसले चन्द्रमामा स्पेस स्टेसन निर्माण गर्नेसम्बन्धी योजनाको घोषणा गरेका छन् । रुसको अन्तरिक्ष एजेन्सी रोसकसमसले चीनको राष्ट्रिय अन्तरिक्ष विभागसँग यसबारे सम्झौतामा हस्ताक्षर पनि गरिसकेको जनाएको छ ।

यसमा चन्द्रमाको सतह या यसको घुम्ने पथ अथवा दुवैतर्फ रिसर्चका लागि भनेर स्टेसन निर्माण गर्ने दुवै देशका स्पेस एजेन्सीहरुले बताएका हुन् । सो स्पेस स्टेसन अन्य राष्ट्रहरुका लागि पनि प्रयोग गर्न उपलब्ध हुने बताइएको छ ।

अहिले रुसले पहिलो अन्तरिक्ष यात्राको ६०औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेकै बेलामा यस्तो घोषणा गरेको हो । यस अन्तर्राष्ट्रिय वैज्ञानिक लुनार स्टेसनले विविध किसिमका वैज्ञानिक खोजहरु गर्ने र चन्द्रमाका स्रोतको सही उपयोग गर्ने उनीहरुले बताए । म्यान्डरिन भाषाको सो बयानमा यस्तो भनिएको थियो, “चीन र रुसले अन्तरिक्ष विज्ञानका आफ्ना अनुभव र खोजहरुमार्फत संयुक्त रुपमा नयाँ अन्तर्राष्ट्रिय लुनार स्टेसन निर्माण गर्नेछन् ।” यसको डिजाइन र सञ्चालनका सबै उपकरणसम्बन्धी पनि दुवै देशले सहकारिता जनाउने यसमा भनिएको छ ।

चीनको अन्तरिक्ष कार्यक्रमकी विशेषज्ञ छेन लामले एएफपी न्युज एजेन्सीसँग यो परियोजना वास्तवमै धेरै ठूलो भएको बताइन् । विशेषगरी चीनका लागि यो अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष परियोजना भएकाले धेरै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

अन्तरिक्ष खोजमा चीनले बाँकी मुलुकभन्दा धेरै ढिलो सुरु गर्यो तर गत डिसेम्बर यसले चांगी ५, यानबाट सफलतापूर्वक चन्द्रमाको ढुंगा र माटो ल्याउन सफल भएको हो । त्यो समयमा यसले चीनको बढ्दो अन्तरिक्ष क्षमता प्रस्तुत गरेको थियो । यता रुसले अन्तरिक्ष विज्ञानमा धेरै पहिला नै सफलता हासिल गरिसके पनि पछिल्ला केही वर्ष चीन र अमेरिकाका कारण छायामा पर्दै आएको छ ।

गत वर्ष यसले अन्तरिक्ष यात्रीहरुलाई स्पेस स्टेसन लैजाने एक मात्र देशका रुपमा आफ्नो स्थान गुमाएको हो । किनकि एलन मस्कको स्पेसएक्सले पनि यो सेवाका निम्ति सफलतापूर्वक रकेट लन्च गरेको हो । अमेरिकाले अब आगामी २०२४ मा चन्द्रमामा पुनः फर्किने घोषणा गरेको छ । यसअघि १९७२ मा मात्र मान्छेले चन्द्रमामा पाइला टेकेको थियो ।

तपाईको प्रतिक्रिया