लाहुरे बन्ने सोच थियो, तर पुर्खौली पेशामै स्वरोजगार बने

जीवन संघर्षका क्रममा जीविकोपार्जनकै लागि नेपालमा घर छोडेर स्वदेश तथा विदेशीनेको संख्या पनि कम छैन । मानिसहरु पैसा कमाउनका लागि रोजगारी खोज्दै विश्वका कुनाकुना धाउँछन् । तर एक संघर्षशील युवा दिनेश विश्वकर्माले भने आफ्नो पुर्खौली पेशालाई अंगाल्नसके स्वदेशमै राम्रोसँग गरीखान सकिन्छ, भन्ने गतिलो उदाहरण दिएका छन् । तनहुँमा जन्मेका उनी कर्मको शिलशिलामा विगत लामो समयदेखि सुर्खेत बीचबजारमा सुनचाँदी व्यवसाय गर्दै आएका हुन् । सुनचाँदी व्यवसायी संघ सुर्खेतका उपाध्यक्ष समेत रहेका उनी व्यवसायमा अब्वल बन्दै गएका छन् । उनको जीवन संघर्षका अनुभवसहितको कुराकानी सारांश ः

बाल्यकाल
मेरो जन्म २०३६ साल भदौ २५ गते गण्डकी अञ्चल, तनहुँ जिल्लाको रतनपुरमा भएको हो । म मध्यम वर्गीय परिवारमा जन्मेकाले बाल्यकाल पनि सहजै बित्यो । तर गाउँले जीवन घरायासी कामसँगै स्कुल जानु पथ्र्यो । परिवारमा आमा, बाबासँगै हामी सात भाई र एक बहिनी थियौं । बाबा स्वर्गीय बलभद्र र आमा देविकलाको कोखबाट जन्मेको म ठाइँलो छोरो हुँ ।

बाबाले पनि हाम्रो पुर्खौली पेशा सुन व्यवसाय गर्नुहुन्थ्यो । त्यही व्यवसायबाटै हामी सबैलाई पढाउनुभयो । घरमा खान लगाउनको खासै समस्या थिएन । सबै भाई, बहिनी बिहान, बेलुका घरको कामसँगै दिउँसो स्कुल जान्थ्यौं । अहिले हामी सबै भाई आत्मनिर्भर छौं । कसैले रोजगारी त कसैले आ–आफ्नो व्यवसाय गरीआत्मनिर्भर बन्न सफल भएका हौं ।

शिक्षा र रुची
म कक्षा १ देखि १० सम्म गाउँकै सरस्वती माध्यमिक विद्यालय घलेछापमा पढे । सोही विद्यालयबाट एसएलसी पास गरिसकेपछि सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भए । तर मैले पढाईलाई अघि बढाउनु सकिन । अहिले धेरै नपढेकोमा पछुतो लागेको छ । पढाई त ज्ञान लिनका लागि मात्रै रहेछ । धेरै पढेर धेरै पैसा कमाउन सकिन्छ भन्ने सोचाइ थियो । तर ज्ञान, सीपसँगै व्यवसायमै मेहेनत गरे पनि धेरै पैंसा कमाउनका सकिन्छ ।

कर्मप्रतिको विश्वास र भाग्यको साथले आज म आफ्नो व्यवसायप्रति निकै खुशी छु । सानोमा म खेलकुदका गतिविधिप्रति खुबै चासो राख्थे । खेल क्षेत्रको रुचीकै कारण घरदेखि विद्यालयसम्म दैनिक खेलकुदका क्रियाकलापमा सहभागी हुन्थे । त्यो बेला भविष्यमा उमेर पुगेपछि लाहुरे बन्ने सपना थियो ।

विस्तारै उमेर पुगेपछि लाहुरे हुनका लागि एक पटक प्रयास पनि गरे । तर असफल हुँदा फेरी लाहुरेमा प्रयास गरिएन । जिन्दगी भने जस्तो र सोचे जस्तो कहाँ हुन्छ र । सानोमा मेरा धेरै ठूला सपना थिएनन् । परिस्थिति अनुसार संघर्ष गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अहिले लाहुरे नभए पनि एक कुशल सुन व्यवसायी बन्न सफल भएको छु । पोखरा आभुषण केन्द्र खोलेर सुन व्यवसायबाटै सेवा गर्न पाएकोमा मलाई आत्म सन्तुष्टि पनि मिलेको छ ।

सुर्खेत प्रवेश
२०५२ सालमा म एसएलसी पास भएपछि सुर्खेत आएको हुँ । त्यो बेला सुर्खेत निकै टाढा लाग्थ्यो । तनहुँबाट सुर्खेत पुग्न बाटोको अवस्था पनि राम्रो थिएन । मेरो दाजु कृष्णबहादुर विश्वकर्मा सुर्खेत सिँचाइ कार्यालयमा काम गर्नुहुन्थ्यो । म दाजुसँगै आएर पहिलो पटक सुर्खेतमा पाइला टेकें । त्यो बेला म क्याम्पस पढ्ने भनेर आएको हुँ । शनिहल चोकमा दाजु कोठा लिएर बस्नु भएको थियो । म दाजुसँगै बसे । सुर्खेत बसाइँ पनि मलाई खासै अप्ठ्यो भएन । त्यो बेला झण्डै तीन वर्ष जति उस्सु गेम पनि खेले ।

पछि दाजुले भाई खाली भयो, भनेर कोठा नजिकै किराना पसल खोली दिनुभयो । करिब तीन वर्षजति किराना पसल चलाए । पछि कोठा नजिकै स्वर्गीय आदरणीय दाजु रिमलाल विश्वकर्माले खोलेको सुन काम गर्ने कारखाना अर्थात भैरहवा ट्रेडर्समा झण्डै सात वर्ष काम गरें । त्यहाँ काम गर्दा मलाई सुन व्यवसायमा राम्रो अनुभव लिने र सीप सिक्ने मौका मिल्यो ।

हुन त सुन व्यवसाय हाम्रो पुर्खौली पेशा हो । तर मलाई रिमलाल दाईसँग काम गरेपछि मात्रै सुन व्यवसायमा सिप सिक्ने र अनुभव लिने मौका मिलेको हो । त्यही सिप र अनुभवका कारण आज मलाई यो व्यवसाय सञ्चालनमा सहज भएको छ ।

व्यवसायिक यात्रा
रिमलाल दाईको भैरहवा ट्रेडर्समा झण्डै सात वर्ष काम गरिसकेपछि मलाई विदेश जाने सोच आयो । वैदेशिक यात्राको तयारीमा मैले पासपोर्ट पनि बनाएँ । भिसा आउने तयारीमा थियो । तर आमाले मलाई विदेश जान दिनु भएन । म कलिलै उमेरमा विदेशीने कुरा भएपछि आमा निकै निराश हुनुभयो । मेरी आमाले मलाई विदेशीनु भन्दा यतै पसिना बगाएर काम गर्न अनुरोध गरेपछि मैले विदेश नजाने निर्णय गरे । अनी मैले सिकेको सीपका आधारमा सुन पसल खोल्ने निधो भयो । व्यवसायका लागि बजारमा तीन ठाउँमा पसल हेरे ।

पछि सबैभन्दा जो अहिले सञ्चालन गरेको बीचबजारको पसल उत्तम लागेपछि व्यवसाय सुरु गरे । २०६१ तिरको कुरा हो । मैले पसल सञ्चालन गर्नुअघि सुन तोलाको १३ हजार थियो । तर मैले पसल सञ्चालन गरे लगत्तै सुन तोलाको २५ देखि ३० हजारसम्म पुग्यो । मलाई व्यवसाय डुब्ने निकै चिन्ता लाग्न थाल्यो । मन आत्तिएको थियो । व्यवसाय चल्ला जस्तो लाग्दैन थियो । म निकै सोच्न थाले । दाजु, भिनाजु लगायत आफन्तबाट सहयोग माग्दै जग्मा गरेको सात, आठ लाख त डुब्ने होइन । सुरुवात मै यती रकम लगानी गर्नु मेरा लागि निकै चुनौती थियो । तर मनमा आटँ बढाउँदै कर्मप्रति विश्वास गर्दै निरन्तर काममा लागे । र अहिले सफल पनि भएको छु ।

तर सुनको भाउ हट्ने, बढ्ने क्रमले महंगोमा किनेको सुन सस्तोमा बेच्नुपर्ने त होइन भन्ने त्रास कायमै छ । अहिले पनि सुन ल्याउन काठमाडौं जानुपर्छ । बाटोमा चोरी हुने, लुटिने चिन्ता छ । सधैं जोखिम मोलेर सुन व्यवसाय गर्नु परेको छ । सुर्खेत कर्णाली प्रदेश राजधानी भएकाले यतै बैंकमार्फत् सुन पाइने व्यवस्था भएको भए सहज हुन्थ्यो । यस बिषयमा बैंकहरु र प्रदेश सरकारले छलफल गरी यतै सुन खरिद गर्न पाइने व्यवस्था मिलाई दिएको भए, हामी सुन व्यवसायीका लागि सहज हुन्थ्यो ।

सफलता र अन्तरजातीय विवाह
मैले सुन व्यवसायबाटै सुर्खेतमा घर घडेरी जोडेको छु । यही व्यवसायबाट आफूलाई चढ्ने सवारी साधान किनेको छु । १२ जनालाई रोजगारी दिन सफल भएको छु । हुन त ऋण र लगानी दुवै उस्ता उस्तै छन् । तर व्यवसायबाट म र मेरो परिवारमात्रै होइन मसँग काम गर्नेहरु पनि खुशी छन् । मैले अन्तरजातीय विवाह गरेको हुँ ।

समाजमा अहिले पनि अन्तरजातीय विवाह नस्वीकार्ने दस्ता छ । तर मेरो विवाहमा कुनै रोकावट भएन । हामी दुवैको परिवारले सहजै स्वीकार्यो । मेरो श्रीमति मिरा पुन, सुर्खेत गुमीकी हुन् । हामी एक अर्काको मन मिलेपछि विवाह बन्धनमा बाँधियौ । जो हाम्रो खुशीमा दुवैको परिवार आफन्तबाट कुनै अवरोध भएन । अहिले हामीबाट जन्मेकी छोरी १४ वर्ष र छोरो ८ वर्षका भइसके । हामी आत्म सन्तुष्टिसँगै खुसीका साथ बसेका छौ । मान्छेको सोच, विचार, मन र व्यवहार सफा हुनुपर्छ, जातले कुनै फरक पर्दैन ।

अबको बाटो
मैले सुन चाँदी व्यवसायको माध्ययमबाट जीवन संघर्षको लामो समय बिताइसके । मसँग यही व्यवसायको सिप र ज्ञान छ । बाँकी दिनमा पनि यही व्यवसायमै टिक्न चाहान्छु । तर सुनको मूल्य बृद्धि र व्यवसायमा हुने रिक्सका कारण कहिले काही अन्य व्यवसायको विकल्प खोज्नुपर्छ जस्तो लाग्छ । तर अन्य व्यवसायमा मेरो ज्ञान पनि छैन नी । यसै व्यवसायलाई अघि बढाउने सोच छ ।
गत वर्षको तुलनामा यस वर्ष लकडाउनका कारण सुन व्यापार ह्वातै घटेको छ । पसलको भाडा र स्टाफ खर्च जुटाउन चुनौती छ । यी विभिन्न समस्यासमाधान गर्दै व्यवसायमा अघि बढ्नेछु ।


error: Alert: Content is protected !!