
जीवन संघर्षको लामो समय शैक्षिक सेवामै बिताएका पीताम्बर ढकाल अहिले समाज सेवामा सक्रिय छन् । १४ वर्ष बढी शिक्षण पेशामा अनुभव बटुलेका उनी पछिल्लो समय समाज सेवामा लागेका हुन् । शैक्षिक सेवामा योगदान पु¥याउने रहर पूरा भए पनि समाज सेवाप्रतिको भावना बढ्दै गएको छ । राजनीतिमा खासै रुची नभएका उनलाई राजनैतिक अवसर पनि नआएका होइनन् । तर उनले जीवनमा राजनीति गर्ने र लोकसेवामा प्रतिस्पर्धा गर्ने चेष्टा नै गरेनन् । प्रस्तुत छ, रोक, भोग र गरिबीलाई जित्दै जीवन संघर्ष गर्ने क्रममा समाजसेवी पीताम्बर ढकालले भोगेको अनुभव सारांशः
बाल्यकालदेखि पढाईमा लगनशील
मेरो जन्म २०११ साल वैशाख ३० गते भएको हो । म सुर्खेतको सिम्तामा जन्मेको हु । तर म एक वर्षको हुँदा बुबाहरु बस्ती सरेर लेकफर्सा आएकाले स्थायी ठेगानामा लेकफर्सा नै लेखियो । लेकफर्सामै बसे, त्यही पढेर हुर्किए । त्यो बेला औलो रोगले खुबै सताएको थियो । पछि औलो उन्मूलन पनि भयो । हाम्रो बसाइँ पनि समय अनुसार परिवर्तन हुन्थ्यो । हाम्रा तीन वटा साना–साना घर थिए । खेतीपातीका लागि लेकफर्साको फाँटमा, अन्नबाली जम्मा गर्नका लागि खर्कमा र लेकफर्साको लेकमा गरी तीन वटा घर थिए । हामी समय र मौसम अनुसार बसाइँ सथ्र्यौ । जहाँ–जहाँ गयो । उतैका स्कुलमा पढ्थ्ये । त्यसले गर्दा पढाईमा असहज हुन्थ्यो । तरपनि घरको काम गर्दै पढ्न छोडिन ।
हाम्रो परिवारमा कालो दिन
म आठ वर्षको हुँदाको घटना हो । म आफै पनि बिरामी भएर बेहोस् थिए । मेरो घरका सबै परिवार एक्कासी बिरामी भएर थला परे । मेरो घरबाट लगातर तीनसम्म तीन वटा लास निस्किएछन् । पहिलो दिन भाईको लास, दोस्रो दिन बहिनीको लास र तेस्रो दिन आमाको लास घरबाट निस्कियो । म बेहोस् भएकाले आठ दिनपछि मात्रै मेरो आमा बितेको थाहा पाएँ । अहिलेको जस्तो सहज यातायात, टेलिफोन र स्वास्थ्य संस्थाको सुविधा थिएन । गाउँमा रोगको उपचार भन्दा झारफुक गर्न थालेछन् ।
त्यो घटना सम्झदा अहिले पनि मन भक्कानिन्छ । घटनापछि घरमा हामी भाईबहिनी साना थियौं । बाबा काममा व्यस्त हुनुपर्ने । घरमा हामीले खाना पकाएर खान पनि नसक्ने अवस्था भएकाले बुबाले मेरो सानीआमालाई विवाह गर्नुभयो । म अहिले पनि आमा नभनेर उहाँलाई सानीमा नै भन्छु । जीवन संघर्ष रहेछ । संघर्ष गरेपछि सफलता र सन्तुष्टी पनि मिल्छ ।
शैक्षिक यात्रा
गाउँकै स्कुलमा कक्षा ५ पास गरे । कोखानन्द माविबाट एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि म नेपालगन्ज गए । त्यो बेला सुर्खेतमा ठूला कलेजहरु थिएनन् । तर नेपालगन्जमा गर्मीले बस्न नसकिने जस्तो लागेपछि बुवासँग सल्लाह गरेर त्रिभुवन कलेज पाल्पामा पुगेर भर्ना भए । त्यो बेला अहिलेको जस्तो अवस्था थिएन । कसैले के कति पढ्ने हो ? भनेर सोध्यो भन्यो भने पनि म आईएड पढ्ने हो भन्थ्ये ।
त्यो बेलाको चलनमा आईएड नै ठूलो जस्तो लाग्थ्यो । मैले त्रिभुवन कलेज पाल्पाबाटै आईएड पास गरे । त्यो बेला पञ्चायतकाल भएकाले पञ्चायतविरुद्ध युवा जनशक्ति धेरै लागि परेको थियो । सबै युवालाई काठमाडौं आउन दिएमा पञ्चायत विरुद्धको युवा जमात थेक्न सकिदैंन भनेर पञ्चयात सरकारले आफ्नो क्षेत्रमा सम्बन्धी विषय वा तहको पढाई हुने क्याम्पस हुँदाहुँदै अन्यन्त्र पढ्न जान नपाइने नीति ल्यायो । पछि उच्च शिक्षाका लागि काठमाडौं पुगेका विद्यार्थी पनि आफ्नो क्षेत्रमा फर्किए ।
म काठ्माडौ नगएकाले सहज भयो । तर काठमाडौं पुगेका साथीहरु अन्तमा आफ्नो क्षेत्रकै क्याम्पसमा आएर भर्ना हुनुपर्यो । पाल्पामा आईएड सकिएपछि पञ्चायतको नीति मान्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भएर बीए पास गरे ।
त्यसपछि त्रिभुवन विश्वविद्यालय कृतिपुरमा भर्ना भएर राजनीतिक शास्त्रबाट एमए पास गरे । घरको आर्थिक अवस्था पनि कमजोर थियो । बुबाले कृषि पेशाबाटै कमाएको पैंसाले मलाई पढाउनुभयो । हुन त त्यो बेला आम्दानी गर्न पनि अप्ठ्यारो थियो । भने खर्च पनि कम रुपैयाँमै टथ्र्यो ।
म पाल्पामा पढ्दा पाँच रुपैयाँमा मासिक कोठा भाडा र पाँच रुपैयाँमा पानी ल्याएर खाना पकाउने मान्छे भेटिन्थ्ये । होटलमा खाँदा मासिक ७० रुपैयाँ जति लाग्थ्यो । तर घरमा कृषि उत्पादन प्रयाप्त मात्रामा हुने भएकाले हामीलाई खाएर बेच्न पुग्थ्यो । त्यसैको आम्दानीबाट म पढेको हुँ ।
स्थायी जागिर छोडेर पढ्न जाँदा…
पछि एक चरणको पढाई सकेर म रोजगारी खोज्ने अवस्थामा थिए । पढाई सकेर गाउँमा बस्दा गाउँलेहरु यसले कतै काम पाएनछ । क्षमता नभएको रहेछ, भनेर कुरा काट्थ्ये । २०३६ सालको कुरा हो । पहिलो पटक गाउँमा प्राथमिक विद्यालयमा पढाउने अवसर पाएँ । मेरो मासिक तलब ९५ रुपैयाँ मात्रै थियो ।
त्यो बेला मासिक त्यही ९५ रुपैंया पनि खर्च हुँदैन थियो । त्यसपछि दशरथपुरको जीवन ज्योति माविमा मासिक एक सय ५० रुपैयामा काम गरे । त्यो बेला बीए पास भएको थियो । घरमा बुबा बिरामी भएपछि एमए पढ्न जान पाइन । बुबालाई छोड्न नमिल्ने भएपछि मैले आनन्द माविमा अस्थायी शिक्षकमा काम गरे ।
त्यो बेला जिल्ला शिक्षा समितिले स्थायीको लागि सूचना खोलेको थियो । अहिलेको जस्तो प्रतिस्पर्धाको जमाना थिएन । एउटा फारम भरेपछि स्थायी भइन्थ्यो । म ०३६ सालमै स्थायी शिक्षक पनि भए । तर मलाई काम गर्न मन लागेन । अँझ धेरै पढ्नुपर्छ भन्ने सोच आयो । बुबासँग सल्लाह गरेर मावि शिक्षकको स्थायी जागिर छोडेर मास्टर डिग्री पढ्न गए ।
अध्यापनमै १४ वर्ष बित्यो पछि त्रिभुवन विश्वविद्यालय कृतिपुरबाट म प्रथम श्रेणीमा एमए पास भइसकेपछि २०३७ साल फागुन महिना जागिरको शिलशिलामा डोटी क्याम्पसमा पुगे । त्यहाँ सहायक प्रध्यापक पदमा दुई वर्ष काम गरे । त्यो बेला सात सय २५ रुपैयाँ तलब थियो । पछि सुर्खेतमा पनि क्याम्पस खोल्नुपर्छ भन्ने अभियान सुरु भयो । मलाई पनि बाहिर गएर काम गर्नु भन्दा आफ्नै जिल्लामा सेवा गर्नुपर्छ भन्ने सोच आयो । मैले डोटीबाटै स्वर्गीय मामा तुलसिप्रसाद शमालाई क्याम्पस खोल्ने बिषयमा चिठि लेखेर पठाए ।
उहाँ तत्कालिन जिल्ला पञ्चयातको सभापती हुनुहुन्थ्यो । उहाँले सबै बुद्धिजीवि, समाजसेवी लगायत सरोकारवालासँग छलफल गरेर वीरेन्द्रनगर बहुमुखी क्याम्पस स्थापना गर्नुभयो ।
त्यसपछि २०३८ सालमा मैले पनि डोटी छोडेर वीरेन्द्रनगर बहुमुखी क्याम्पस आए । यहाँ अध्यापन गराउँदा गराउँदै मैले वीएल प्राईभेटबाट पास गरे । लाईसेन्स पनि लिएको छु । शिक्षण पेशाले काम गर्न नपाएपनि लाईसेन्स नविकरण गर्दै बस्ने काम भयो । यसरी जागिरको शिलशिलामा क्याम्पस अध्यापन पेशामा मात्रै १४ वर्ष काम गरेको छु । शिक्षा क्याम्पसमा ६ वर्ष र बाँकी समय वीरेन्द्रनगर बहुमुखी क्याम्पसमै काम गरियो ।
अनुभव र अबको बाटो
लोकसेवा आयोगमा मेरो कहिले पनि ध्यान गएन । शिक्षण पेशामै मेरो रुची बढ्दै गयो । राजनीतिमा पनि रुची गएन । तर राजनीतिमा अवसर आएका थिए । साथीभाईहरुले पनि राजनीतिमा लाग्न अनुरोध गरेका थिए । तर मलाई शैक्षिक सेवामै आफ्नो जीवन बिताउन पर्छ भन्ने लाग्यो । अहिले रिटार्यस जिन्दगी बिताइरहेको छु । आगामी दिनमा पनि राजनीति गर्ने सोच छैन । सबैप्रति समान धारणा राख्नुपर्छ ।
आगामी दिनमा समाज सेवा गर्नेछु । किताब, आर्टिकल लेख्ने गरिरहेको छु । कसैले मेरो अनुभव लिन र मैले जाने बुझेका केही राय सल्लाह लिन आएमा सजिलै व्यक्त गर्छु । धेरैले म सँग आएर शैक्षिक क्षेत्रको विषयमा सल्लाह पनि लिन्छन् ।
अहिलेको सन्दर्भमा जनरल एजुकेशन भन्दा प्राविधिक शिक्षा जरुरी छ । जनरल एजुकेशनको पनि आफ्नै ठाउँ छ । तर प्राविधिक शिक्षाले व्यक्तिलाई सरकारी जागिरै खानुपर्छ भन्ने छैन । आफै स्वरोजगारका कार्यक्रम सर्जना गरेर आत्मनिर्भर बन्न सक्छन् । आफूपनि छिटो बन्ने र देशलाई पनि छिटो बनाउने हो, भने प्राविधिक शिक्षा नै उपयुक्त छ ।
त्यसैले अब मेरो बाँकी जीवनमा यसअघिको अनुभव र ज्ञानका आधारमा समाज सेवासँगै शैक्षिक क्षेत्रको सुधारमा लाग्नेछु । अहिले मेरो तीन छोरी र दुई छोरा, बुहारी सबै रोजगारी छन् । सबै आआफ्नो पेशाबाट आत्मनिर्भर बनेका छन् । बस्नलाई वीरेन्द्रनगरमा घर छँदैछ । सजिलै खान लगाउन पुगेको छ । आत्म सन्तुष्टी मिलेको छ । बाँकी महोत्वकांक्षी, लोभ लालच छैन । सकेसम्म समाज सेवामै बाँकी जीवन बिताउने रहर छ ।

सुरेश आचार्य । २०७७ चैत्र ८, आईतवार