ऋषिको कृपाले बाघ बनेको मुसा जंगलमा राज गरिरहेको हुन्छ । बाघ बनेको मुसालाई जंगलका सबै जनावरले “ऋषिले बाघ बनाइदिएका भए पनि तिमी मुसा नै हौ” भनेर खिज्याउँदा रहेछन् । यसले मुसालाई हीनताबोध हुँदोरहेछ । मुसाले सोचेछ ( यी जनावरले ऋषिको शक्ति थाहा पाएकोले आफू अपमानित हुनुपरेको हो । उसले समस्याको जड ऋषिलाई ठानेछ र ऋषिलाई नै खाने निर्णय गरी आक्रमण गरेछ । ऋषिले आफ्नो शक्ति प्रयोग गरेर मुसालाई बाघबाट फेरि मुसा नै बनाइदिएछन् ।
शान्तिपूर्ण संसदीय राजनीतिमा आएको माओवादी एकाएक सबभन्दा ठूलो दल हुँदा अस्तित्व जोगाउनै समस्या परेको थियो । निर्वाचनमा नेपालमा सबै कम्युनिस्ट पार्टीको मत जोड्दा ६० प्रतिशतभन्दा बढी पुग्ने तर नेपाली कांग्रेस नै पहिलो पार्टी हुने शृंखला दोहोरिइरहेको थियो । अर्कोतिर चिनियाँ कम्युनिस्ट पार्टी नेपालमा बलियो कम्युनिस्ट पार्टी बनाएर आफ्नो स्वार्थ पूरा गर्न चाहन्थ्यो ।
यसै रणनीतिअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले ‘भातृ पार्टी’का नाममा नेपालमा एकीकृत बलियो कम्युनिस्ट पार्टी बनाउने अवधारणामा काम थाल्यो । त्यसपछि माओवादी र एमाले सत्ता र शक्तिको लोभमा दुनियाँलाई चकित र भ्रमित पार्दै एकीकृत हुन पुगे । यो एकतामा पुष्पकमल दाहाल र केपी ओलीले सत्ताको ‘ललिपप’ देखेका थिए भने चीनको नेपालमा आफ्नो रणनीतिक पकडको लागी बलियो मित्र शक्तिको बन्दोबस्त गर्ने योजना थियो ।
हुन पनि यही चुनावी एकताले अत्यधिक बहुमतका साथ कम्युनिस्टहरूलाई सत्तासीन गरायो । एकीकृत नेकपा पनि बन्यो तर समस्या त्यहीँ देखियो । एउटा पक्षले सत्तामा पाएको भागमा चित्त बुझाउन सकेन भने अर्को पक्षले आफ्नो हातमा परेको सत्ता बाँढ्न चाहेन ।
यो एकता निष्ठामा उभिएर देश बनाउन गरिएको थियो भने नेकपाका नेताहरू यति तल्लोस्तरमा झरेर अपशब्द प्रयोग गर्दै एकले अर्कोलाई विवस्त्र तुल्याउन मरिहत्ते पक्कै गर्ने थिएनन् । आदर्श र सिद्धान्त त्यागेका नेताहरूको दन्त बझानले तिनले जनतालाई देखाएको सपना जालझेलमात्र भएको प्रमाणित भएको छ । सत्ता र स्वार्थको मोहमा कुनै शक्तिले एकीकृत गराएको नेकपाभित्र एकले अर्कोलाई सिध्याउने पाखण्डी षड्यन्त्रको प्रभुत्व रह्यो । नेकपाको एकता कहाँसम्म बनावटी र नक्कली थियो भने त सर्वोच्च अदालतले माओवादी र एमाले ब्युँताएको निर्णय प्रचार हुदाँसाथ नेकपाको बोर्ड फाल्ने हतारबाट प्रष्ट देखिन्थ्यो ।
हुनत कम्युनिस्टहरुको पर्मपरा नै हो अर्कोलाई खराब देखाएर आफू राम्रो देखिन खोज्ने । कम्युनिस्टको विगत हेर्दा नेपालमा कम्युनिस्ट पार्टीकै संस्थापक पुष्पलाललाई नै गद्दार घोषणा गर्ने वा ‘जनयुद्ध’का नाममा आफ्नै साथीलाई जासुसको आरोपमा हत्यासम्म गर्नेसम्म गरेको देखिन्छ । यसैले अहिलेको दन्तबझान उनीहरूका लागि सामान्य व्यवहार नै लाग्ला तर जनसाधारणले यसलाई सामान्य मानेको देखिँदैन ।
माओवादीको बलमा एमाले र एमालेको मतले माओवादी शक्तिशाली बने । तर, शक्ति प्राप्त भएपछि एकले अर्कोलाई दुस्मन देख्न थाले । कारण थियो ( सत्ताको स्वार्थ । अन्ततः सत्ता प्राप्तिका लागी एकले अर्कोलाई सक्नुपर्ने निष्कर्षमा दुवै पुगे । एकअर्काप्रति कृतज्ञ हुनुपर्नेमा कृतध्न हुन पुगे । बाघ बनाउने ऋषिलाई नै मुसाले शत्रु देखेजस्तै एकले अर्कोलाई वैरी देख्न पुगे । अनि एकले अर्कोलाई सिध्याउने खेलले पुरानै अवस्थामा फर्कन बाध्य भए ।
यसबीच एउटा गम्भीर प्रश्न पनि उपस्थित भएको छ ( के नेपालको राजनीतिमा बाघ बनेर उदाएका कम्युनिस्टहरूको पतनको थालनी भएकै हो त रु यसमा सत्यको अंश धेरै हुनसक्छ । “पुनर्मूषिको भवः” नै नेपालमा कम्युनिस्ट पार्टीको पतनको पहिलो विन्दु हुन सक्छ । कम्युनिस्टहरूको अन्त्य निरपेक्ष भने होइन । नेपालको राजनीतिमा पहिलो, निर्णायक र अभिभावकीय भूमिका खेलिरहेको पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्वले चाल्ने सैद्धान्तिक र व्यावहारिक कदम र क्रियाकलाप कम्युनिस्ट पतनका लागि पहिलो सर्त हो । दोस्रो, वाह्य शक्तिको स्वार्थ र नयाँ राजनीतिक पार्टी तथा तिनको भूमिका हो ।
कांग्रेसको आन्तरिक समस्या र लडाइँको उचित व्यवस्थापन गर्न नेतृत्व सफल भएन भने नेपालमा कम्युनिस्ट वर्चस्व कायमै रहन सक्छ । विगत केही वर्षको इतिहास हेर्ने हो भने कांग्रेस वाह्यभन्दा पनि आन्तरिक झगडा र अन्तर्घातको सिकार भएकोछ । यो चुनौतीलाई बेवास्ता गरेर अगाडि बढ्यो र कम्युनिस्टको झगडा नै आफ्नो शक्ति हो भन्ने भ्रमबाट मुक्त हुन सकेन भने कम्युनिस्टहरू फेरि शक्तिशाली हुनेछन् ।
कांग्रेसको अर्को चुनौती हो ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनसाधारणलाई दिएको विकासको भ्रम, सत्ताको दुरुपयोग, भ्रष्टाचार, लोकतन्त्र र संविधानमाथि गरेको बेइमानी जनतासम्म एकै स्वरमा पुर्र्याउने । हामीले देखेका र सुनेका छौं जसरी एमालेमा दुई धुव्र छ कांग्रेस पनि विभाजित मानसिकता लिएर अघि बढ्यो भने पनि त्यो कम्युनिस्टकै लागि थप अवसर हुनेछ ।
नेकपाको फुटमा सायद सबैभन्दा दुखी चिनियाँ कम्युनिस्ट पार्टी भएको छ । ठूलै मेहनतले जुटाएको नेकपा पुरानै अवस्थामा फर्कनु उसका लागि चिन्ता र चुनौती दुवै हो । यही कारणले नेकपा फेरि एक हुने वा एकता नै नभए पनि संयुक्त मोर्चा बनाएर चुनावमा जाने सम्भावना बलियै छ । यसलाई परास्त गर्न कांग्रेसले पनि स्पष्ट राजनीतिक खाकासहित लोकतान्त्रिक शक्तिहरूलाई मोर्चाबन्दी गर्नु जरुरी छ । यसको नेतृत्व पनि कांग्रेसले मात्र गर्न सक्छ ।
कांग्रेसले वर्तमान राजनितिक सङ्कटको निकासको नेतृत्व लिन ठूला दलमात्र नभएर सानाठूला सबै राजनीतिक शक्तिसँग विचार विर्मश गर्नु र सबैलाई मिलाएर संयुक्त चुनावी सरकारको अडान राख्नुपर्छ । यही रणनीतिबाट नै लोकतान्त्रिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउन सहयोग पुग्नेछ । कांग्रेसले परिपक्वता देखाउन नसके मुसाकै जुनीमा फर्केका कम्युनिस्टहरू फेरि बाघ बन्न बेर लाग्नेछैन । 12khari.com
नेपालीरैबार । २०७७ चैत्र १३, शुक्रबार