नयाँ वर्षको आगमनसँगै रारामा पर्यटकको घुइँचो : खाना र बासको समस्या

मुगु,  । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित मुगुको रारा तालमा घुम्न आउने पर्यटकको हिजो आज घुइँचोे लाग्ने गरेको छ । रारामा पर्यटकको घुइँचो बढेसँगै पर्यटकहरुका लागि खाना र बासको समस्या पनि बढेको छ ।

नयाँ वर्षको आगमनसँगै रारा ताल घुम्न दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न आउने गरेका छन् । रारा तालको किनारमा एउटै होटल छ, डाँफे गेष्ट हाउस । राष्ट्रिय निकुञ्जको नाममा रहेको उक्त गेष्ट हाउसले पर्यटकको चाप थेग्न धौँ धौँ परेको देखिन्छ ।

दैनिक सयौँको संख्यामा रारा तालमा पर्यटकहरु बास बस्नकै लागि पुग्ने गरेका छन् । पर्यटकको चाप धेरै भएपछि होटलले खाना र बासको व्यवस्थापन गर्न सकिरहेका छैन । तैपनि रारा ताल घुम्ने आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या भने दिनहुँ बढि नै रहेको छ ।

राराको किनारभन्दा बाहिर माझघट्, सल्यारी, लामाचाँैर, ताल्चा एयरपोट, रिगधारा, ढुटुमालगायत धेरै होटलहरु छन् । तर, पर्यटकको रोजाइ नै राराको किनारमा भएको हुँदा बास, गाँसमा समस्या भएको छ । विशेषगरी हिजो आज हवाइ र सडक मार्गबाट रारामा रमाउन आउने पर्यटकको संख्या बढेको छ ।

रारा क्षेत्रमा घुम्न आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको र राराको किनारमा एक मात्र होटल भएकाले पर्यटकलाई गाँस, बासमा समस्या उत्पन्न भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताउनुभएको छ । उहाँका अनुसार अन्य होटल नहुँदा पर्यटक मारमा परेको र नयाँ होटल सञ्चालन गर्ने व्यक्तिलाई सञ्चालनका लागि अपिल गरेका छौँ ।

गत वर्ष कोरोनाका कारण लक्ष्यअनुसार पर्यटकहरु भित्राउन नसकिएको तर यस वर्ष फागुनलगत्तै पर्यटकहरुको घुँइचो लाग्न थालेको अधिकृत बद्रिविनोद दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फागुन मसान्तसम्म रारा घुम्न आएका आन्तरिक पर्यटकको संख्या ४ हजार ४ सय ३९ रहेको छ भने ७ जना मात्र विदेशी रहेका छन् ।’ उहाँका अनुसार यस आर्थिक वर्षभित्र रारामा घुम्न आउने आन्तरिक पर्यटकको संख्या ११ देखी १२ हजार पुग्ने अनुमन गरिएको छ ।

‘रारा पुगे पछि सबै भुलिन्छ ,’ बुटवलबाट रारा घुम्न आउनुभएका शोभा शाक्य भन्नुहुन्छ, ‘तर गाँस, बास र भैतिक पूर्वाधारकाे ब्यवस्था नहुँदा निकै हैरान खेप्नुपर्दछ । यसकारण यी सबै कुराको व्यवस्था भए पर्यटकले आरामले सास फेर्ने थिए ।’

लामो प्याकेजका साथ रारा आउने पर्यटकहरु यीनै समस्याका कारण प्याकेज छोट्याएर छिटो जाने गरेका छन् । बूढाबूढी, बालबच्चा साथमा ल्याएर रारामा घुम्न आउने पर्यटकहरु बिचल्लीमा परेका छन् ।

कर्णाली प्रदेशको स्वर्ग मानिने राराको ताल, वरिपरि देखिने पहाड, नदिनाला र हरियाली हेर्नकै लागि पर्यटकहरु छुट्टि नै लिएर जाने गरेका छन् । आन्तकिर पर्यटकको प्रचुर सम्भावना बोकेको रारामा प्रदेश सरकारले ध्यान दिन जरुरी रहेको पर्यटकहरु बताउछन् ।

त्यसो त कर्णाली प्रदेशका मुख्यमन्त्री र अन्य नेताहरु हेलिकप्टरबाट रारा घुम्न आएका छन् । तर, उनीहरुलाई पर्यटकलाई पैदलयात्रा गरेर घुम्न आउन कति गाह्रो छ भन्ने शब्दमा भन्न गाह्रो छ । यसकारण पर्यटकहरु रारा तालमा पुग्ने बाटोको व्यवस्था गरिदिए शान्ति मिल्ने पर्यटकहरुको आशा छ ।

एकथरी पर्यटक भन्छन्ने-पाली सेनादेखी नेता र ठूला कर्मचारीहरुले शक्ति लगाएर रारा घुम्न आउनुहुँदोरहेछ । तर, सोझा र सीधा जनता रारामा आउनै मुस्किल खान, बासको त के कुरा गर्नु ।

डाँफे होटलमा कार्यरत एक कर्मचारीले होटलको क्षमता भन्दा बढी पाउना आउने गरेको र सबैलाई मिलाएर बास र खाना खुवाउन निकै सकस परेको बताउछन् । उनका अनुसार सबैको चित्त बुझाउन हम्मे हम्मे भएकाले आफूहरुप्रति पर्यटकले गाली पनि गर्ने गरेका छन् ।

यसकारण रारा घुम्न आउनु र आएपछिको समस्याबीच आकाश पतालको फरकपन रहेको पर्यटक तनहुँका रामचन्द्र अधिकारीको गुनासो छ । उनी भन्छन्, ‘रारा आएपछि आकास पातल फरकपन पायौँ । आज राज्यबाट रारालाई सही लगानी भएको भए राराको रुप फेरिने थियो ।’

विशेषगरी रारामा घुम्न आउने पर्यटकहरुले चंङखेली हिमाल, छायाँनाथ हिमाल, कोहिजी मरका हिमाल, बुढीन्दा, बडीमालीका हिमाल, सैपाल हिमाल, खेसमालिका हिमालजस्ता धेरै हिमशृंखलाहरुको अवलोकन गर्ने गर्दछन् । राराबाट २ घण्टा टाढा हिँडेपछि चुचेमारा लेकतिर अघि बढ्दा कस्तुरी, भालु, बदेल, रेडपाण्डा, निगाली बाघजस्ता जनावरको पनि सावधानीपूर्वक अवलोकन गर्न सकिन्छ ।

त्यस्तै, वनमा कालिज, डाँफे, मुनाल, च्याँखुरा, काडेभ्याकुरलगायत जातका चरा चराचुरुंगी पनि देख्न सकिन्छ भने २ सय भन्दाबढी प्रजातिका फूलहरु फूलेको रमणीय दृश्य अवलोकन गर्न पनि सकिन्छ ।

तपाईको प्रतिक्रिया