भुरीगाउँ-चिसापानी खण्डमा दिउँसै देखिन्छन बाघ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको भुरीगाउँ, चिसापानी खण्डको राजमार्गमै पछिल्ला दिनमा बाघ देखिने गरेको छ । निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले त्यहाँ बाघ देखिनु स्वाभाविकै भएको विज्ञहरूको भनाइ छ ।

२०७६ चैत्र महिनादेखि कोभिड १९ नियन्त्रणका लागि लकडाउन सुरू भएपछि राजमार्गमा यातायातका साधन खासै चलेनन् । पाटे बाघको बासस्थान क्षेत्रमा पर्ने भनिएको बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने अम्रेनीदेखि कर्णालीतर्फ जाने झण्डै १४ किलोमिटर पूर्व(पश्चिम राजमार्ग सडकखण्डमा त्यसयता बाघको चहलपलह बढेको छ ।

१५ फागुन २०७७ मा पूर्व-पश्चिम राजमार्ग अन्र्तगत् बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सको ठक्करबाट एउटा वयस्क पाटेबाघ घाइते भएको थियो । निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गको रम्मापुर(सैनवार सडकखण्डको बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट त्यो पाटेबाघ घाइते भएको थियो । यसअघि पनि पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडक बीचमा बस र कारको ठक्करबाट दुईवटा वयस्क पाटेबाघ मारिएका थिए ।

१७ पुस २०७७ राति पाटे बाघले निकुञ्ज क्षेत्रभित्रपर्ने राजमार्गबाटै एकजना महिलालाई आक्रमण गरेको थियो । आक्रमणमा परी ती महिलाको मृत्यु भयो । मोटर साइकलमा नेपालगञ्जबाट कर्णाली चिसापानी जाँदै गरेका आमा छोरामध्ये आमालाई बाघले आक्रमण गरेको थियो । सडकको किनारामा मोटरसाइकल रोकेर पिसाब फेर्न लागेका बेला ती महिला बाघको आक्रमणमा परेकी थिइन् ।

भर्खरै मात्र वीरगञ्ज(ठोरी हुलाकी सडकखण्ड अन्तर्गत् ठोरीको शिकारी बासमा पनि गुडिरहेको अटोमाथि बाघले आक्रमण गरेको छ । १४ चैत २०७७ साँझ ७ बजे ठोरी गाउँपालिका( २ चोकबजारबाट विजय बस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए ।

बाघको आक्रमणबाट अटो अनियन्त्रित भई पल्टिएको थियो । बाघ भने भारतको जंगलतर्फ छिरेका कारण कुनै मानवीय क्षति हुन पाएन । बाघले आक्रमण गरेको उक्त स्थान जंगली हात्ती, बाघ, भालु जस्ता जनावर आवतजावत गर्ने करिडोर हो ।

तपाईको प्रतिक्रिया