कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । देशभर शुक्रबार १ सय ७९ जना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित हुनेको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा सुरक्षा मापदण्ड पालनामा विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।
हालसम्म २ लाख ७७ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४७ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै देशभर पीसीआर परीक्षण हुनेको संख्या २२ लाख ७९ हजार १ सय ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । देशभर हाल ६१ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, चीन सरकारबाट अनुदानमा प्राप्त कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने भएको छ । भेरोसेल खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो । नेपालमा खोप पर्याप्त मात्रामा नआउँदा अभियान प्रभावित बन्न पुगेको छ । नेपाल सरकारले खरिद गरेको १० लाख मात्रा खोप भारत सरकारले अझै उपलब्ध गराउन सकेको छैन । राजधानी दैनिकमा खबर छ ।
नेपालीरैबार । २०७७ चैत्र २१, शनिबार