
सुर्खेत । नेकपा एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले गराएको ध्यानकर्षणप्रति नेकपा माओवादी केन्द्रको संसदीय दलले आपत्ती जनाएको छ । संविधानअनुनसार एक पटक जानकारी गराएइसकेको विषयमा पटक–पटक ध्यानकर्षण गरिएकोप्रति नेकपा केन्द्रले गम्भीर आपत्ती जनाएको हो ।
वीरेन्द्रनगरमा शनिवार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रदेश प्रमुखले गरेको उक्त कार्य संविधानको मर्म विपरित भएको र उहाँको भूमिकाप्रति शंका पैदा गरेको प्रमुख सचेतक सीता नेपालीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
उनले प्रदेश प्रमुखले गरेको उक्त कार्य वैधानिक नभएको बताइन् । यसैविच, प्रमुख सचेतक नेपालीले सरकारलाई एमालेको माधव नेपाल पक्षधर सांसदले समर्थन कायमै राखेकाले कर्णाली सरकार अल्पमतमा नपरेको उल्लेख गरिन् ।
‘सरकारमा सहभागी मन्त्रीले राजीनामा पनि दिनुभएको छैन्,’ नेपालीले भनिन्, ‘एमालेबाटै प्रतिनिधित्व गर्ने सांसदहरु सरकारका मन्त्री हुनुहुन्छ, अनि सरकार कसरी अल्पमतमा हुन्छ ।’ यसैविच, केन्द्रले नेकपा एमाले संसदीय दलको आइतबार बस्ने बैठकले गर्ने निर्णय पर्खने र त्यसैअनुसार धारणा बनाउने रणनीतिमा केन्द्र रहेकाे जनाउ नेपालीकाे छ ।

नेपालीरैबार । २०७७ चैत्र २१, शनिबार