डिशहोम र प्रभु टिभी मर्ज हुँदै, इन्टरनेट पनि एउटै कम्पनीबाट

काठमाडौं । डिशहोम र प्रभु टिभी एक आपसनमा गाभिने भएका छन् । डाइरेक्ट टु दी होम (डिटीएच) तथा डिजिटल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएका यी कम्पनी मर्ज भई एउटा ब्राण्डको रुपमा सेवा प्रदान गर्ने तयारी भएकाे छ ।

अघिल्लो वर्षबाट यी कम्पनीले इन्टरनेट सेवा पनि उपलब्ध गराएका थिए । अब मर्ज गरी इन्टरनेट र टिभी दुवै एउटै ब्राण्डको रुपमा उपलब्ध गराउने गरी मर्जरको तयारी भइरहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले बताएका छन् ।

उनका अनुसार हाल मर्जरका लागि केही समयदेखि नै छलफल चलिरहेको छ । निर्णय भने भइसकेको छैन । तर, दुवै कम्पनीबीच एकीकृत भएर सेवा दिनुको विकल्प छैन भन्ने खालको बुझाइमा भने सहमत भइसकेको छ ।

उनले भने, ‘यो सानो बजारमा धेरै कम्पनीभन्दा पनि एउटै कम्पनी भएर उत्कृष्ट सेवा उपलब्ध गराउन मर्जर आवश्यक छ । अझ पछिल्लो समय क्लिनफिड नीति लागू भएसँगै टेलिभिजन सेवाको व्यापार पनि खुम्चिएको छ । त्यसैले मर्जरका लागि छलफल भइरहेको हो । तर, निश्कर्ष आइसकेको छैन ।’

प्रभुका एक प्रतिनिधिले पनि यस विषयमा छलफल भइरहेकाे जानकारी दिएका छन् । डिशहोममा पनि प्रभुको लगानी भएकाले एउटै कम्पनीमा मर्ज भएर सेवा दिने गरी छलफल भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया