फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई आजै एमाले पार्टीबाट हटाउने तयारी

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको छ ।

शुक्रबार (आज) बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको हो ।

गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । शाहीलाई विश्वासको मत दिने चारैजना भोलिपल्टै प्रदेश सरकारका मन्त्री बनेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेपछि बस्ने बैठकमा कर्णाली प्रदेशका ५ सहित ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे विश्लेषण गर्नुका साथै आवश्यक निर्णय गरिने नेता सुवास नेम्वाङले जानकारी दिए । नेता नेम्वाङका अनुसार फ्लोर क्रस गर्ने चार जना सांसदको कारवाही निश्चित छ ।

तपाईको प्रतिक्रिया