कोभिड–१९को दोस्रो झड्का (वेभ) सुरु भएसँगै मानिसमा बेचैनी बढेको छ । त्यसले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्न थालेको पाइन्छ । वर्तमान अवस्थामा कोभिड–१९ विरुद्ध प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु नै महामारीसँग लड्ने प्रमुख उपचार हो । खोपले कस्तो प्रभाव पार्छ भन्ने विषय अझै ठोकुवा गरेर भन्न सकिने अवस्था छैन र सबैले खोप पाइहाल्ने अवस्था पनि सिर्जना भइसकेको छैन । यस्तो परिस्थितिमा हाँसो हामीभित्र नै उत्पादन गर्न सकिने औषधी हो । घरबाहिर नगएर नै १५ देखि ३० मिनेट हाँस्य योग गरेर आफ्नो प्रतिरक्षा बढाउन सक्ने विज्ञको दाबी कयौं अनुसन्धानले पुष्टि गरिसकेको छ । हाँसो सर्वाधिक उत्तम औषधी हो भन्ने कुरालाई धेरैले स्वीकार्दै छन् । तर, निकै कमले मात्र यो औषधीको भरपुर सदुपयोग गरेको पाइन्छ ।
गाउँघरमा भन्दा पनि सहर बजारका मानिसमा हाँसो हराएको छ । त्यसले पनि हाँसोलाई हामीले आफूभित्र नै खोजी गर्नुपर्ने अवस्था छ । यो व्यस्त र सक्रिय सहरी जीवनशैलीमा मानिसले हाँस्न बिर्सेको प्रतीत हुन्छ । कडा औषधीका रूपमा रहेको हाँसो फेरि हामीमा, परिवारमा, समुदायमा र सहरमा बुलन्द पार्नुपर्ने भएको छ । बालबालिका दिनमा औसत ३ सयपटक हाँस्छन् । तर, वयस्क जम्मा १७ पटक मात्र हाँस्ने गरेको अनसुन्धानले देखाएको छ । हाँसोले फोक्सोलाई खोल्छ र श्वास प्रणालीका लागि निकै राम्रो मानिन्छ । हाँस्य योगले फोक्सोको क्षमता वृद्धि गराउन सहयोग गर्ने डा. सोनु गोयले बताएका छन् ।
- मानिसको दिमाग र शरीरलाई सन्तुलनमा ल्याउनका लागि हाँसो उपयुक्त हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, हाँसो अरू औषधी जस्तो क्याप्सुलमा बेचिँदैन । यो त हामीले नै सिर्जना गर्नुपर्छ ।
कोभिड महामारी कालमा फोक्सोको क्षमता वृद्धि गर्नु जरुरी छ । त्यसैले कोभिड–१९ विरुद्धको लडाइँ हामीले हाँसेर जित्न सक्छौं । अरू सुरक्षा कवज अपनाउँदै हाँस्य योगलाई हामीले जीवन पद्धति बनाउन सक्यौं भने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनका लागि उत्तम औषधी बन्न सक्छ ।
यतिबेला फेरि हामी सेल्फ आइसोलेसन, सामाजिक दूरी कायम गर्ने वा घरबाट काम गर्ने अभ्यास सुरु गर्न थालेका छौं । त्यसैले घरभित्र हुँदा, एक्लै बस्दा मानिसले हाँस्न बिर्सिन्छ । त्यसले गर्दा नै मानिस प्रायः मानसिक, शारीरिक रूपमा रोगी हुन पुग्छन् । त्यसैले हामीले बाल्यकालमा झंै हाँस्न सिक्नुपर्ने भएको छ ।
यति कुरा थाहा पाउन डाक्टरको सल्लाह पनि चाहिँदैन तर हामी हाँस्न सकिरहेका छैनौं । मानिसको दिमाग र शरीरलाई सन्तुलनमा ल्याउनका लागि हाँसो उपयुक्त हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, हाँसो अरू औषधी जस्तो क्याप्सुलमा बेचिँदैन । यो त हामीले नै सिर्जना गर्नुपर्छ । अनावश्यक बोझ बोकेर दिमाग ह्याङ बनाएर मानिस दुःखी भइरहेको छ । बोझ हल्का गर्न केही मिनेट हाँसौं त अनि हामीलाई थाहा हुन्छ, हाँसोको शक्ति ।
आज/भोलि हामी कम्प्युटरको नेटवर्क बलियो बनाउँछांै । तर, मानिस–मानिस बीचको सम्बन्धलाई भुल्न थालेका छौं । यथार्थ धरालतमा उभिन कुनै विषयमा केन्द्रित हुन र सचेत रहन हाँसो सहयोगी सिद्ध हुन्छ र हाँसोले सहरमा मानिसबीच टुटेको सम्बन्ध जोड्ने काम गर्छ ।
पटकपटक हाँस्न सक्दा धेरै रोग भाग्छ । मानिसको शरीरमा क्षय भएको ऊर्जालाई नवीकरण गर्ने शक्ति प्राप्त हुन्छ । समस्यासँग लड्ने शक्ति वृद्धि हुन्छ । यस्तो औषधीलाई हामी खर्च नगरी उपयोग गर्न पाइन्छ भने किन पछाडि हट्ने ? अब हामीले बाल्यकालको जस्तो हाँस्नुपर्छ । नाच्नुपर्छ, गाउनुपर्छ र खेल्नुपर्छ । त्यसैले जीवनलाई गम्भीर बनाउनेभन्दा पनि हाँस्नका लागि अवसर खोज्नेतिर लाग्नुपर्छ ।
हाँसोले सम्पूर्ण शरीरलाई आराम मिल्छ । राम्रोसँग हाँसिएको छ भने माशंपेशीलाई ४५ मिनेटसम्म आराम प्राप्त हुने वैज्ञानिकले पुष्टि गरेका छन् । हाँसोले तनाव गर्ने हार्माेन घटाउँछ र प्रतिरक्षा कोष र संक्रमणसँग लड्ने एन्टिबडी बढाउँछ । त्यसले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा सुधार ल्याउँछ । हाँसोले एन्डोरफिन रिलिज गर्छ । त्यसले हाम्रो मन नै प्रफुल्लित हुन्छ । मानिस आनन्दको खोजीमा दौडिरहेको हुन्छ तर कस्तुरीले झंै आपूmभित्र नै उत्पन्न हुने हाँसोलाई भने मारिरहेको हुन्छ । एन्डोरफिनले समग्र कल्याणको भावनालाई बढवा दिन्छ र अस्थायी रूपमा दुःखाई कम गर्छ । हाँसोले त शान्तिसमेत स्थापना गर्न मद्दत गर्छ ।
हाँसोले मुटुको रक्षा गर्छ । हृदयघात जस्ता समस्याबाट बचाउँछ । हाँसोले क्यालोरीसमेत बर्न गर्छ । दिनमा १० देखि १५ मिनेट हाँस्दा लगभग ४० क्यालोरी जल्न मद्दत हुन्छ । हाँस्यास्पद पक्षलाई हेरेर समस्या कटुता वा असन्तोष नगरी चुनौतीको सामना गर्न सक्षम बनाउँछ । हाँसोले मानिसलाई अर्थ र आशको नयाँ स्रोत फेला पार्न साहस र बल दिन्छ । यस्तो महत्वपूर्ण हाँसोका लागि जोक्स, हाँस्य प्रहसनको आवश्यकता पर्ला भन्ने हुन सक्छ । वास्तवमा प्रायःजसो हाँसो चुट्किला सुनेर आउँदैन । त्यसैले केवल साथी र परिवारसँग समय बिताउँदा आउने हाँसो, यो सबैभन्दा उत्कृष्ट हो र समाजिक पक्ष पनि । आफ्नो फोन स्विच अफ गरेर जसलाई समय दिन सकिन्छ ती मान्छेसँग हाँसेर रिचार्ज हुन पनि सकिन्छ ।
सधैं हँसिलो भइराख्नका लागि पनि हामी अभ्यास गर्न सक्छौं । मुस्कान हाँसोको सुरुवाती बिन्दु हो । यो हाँसोको संक्रमण हो । जब कसैलाई हेरिन्छ तब मन्द मुस्कान दिने अभ्यास गरौं । मोबाइलमा हेरेर टाउको घोट्याएर बस्नुको सटा सडक वा वरपर रहेका मानिसलाई हेरेर मुस्कुराऔं र अरूमा पर्ने प्रभावलाई ध्यान दिएर हेरौं । जीवनका सकारात्मक पक्ष विचार गर्ने साधारण कार्यले मानिसलाई नकारात्मक विचारबाट टाढा राख्न मद्दत गर्छ ।
हामीले हाँसोलाई जोक्समा मात्र खोजेर हुँदैन । प्रथमतः आफूभित्रको बाल्यपनलाई पत्ता लगानुपर्छ । बालबालिकालाई ध्यान दिने र उनीहरूको नक्कल गर्ने प्रयास गर्नुपर्छ । त्यसैगरी, हामीले हाँस्ने र हाँस्न मन पराउने मानिसहरूको खोजी गर्नुपर्छ र समूह बनाउनुपर्छ । त्यसो गर्नाले हाम्रो जीवनमा नयाँ बहार ल्याइदिन्छ । सायद त्यसैको परिणाम हुन सक्छ अधिकांश मानिसले हाँस्य कलाकारलाई मन पराउँछन् । टेलिभिजनका कार्यक्रम मध्य प्रायः हाँस्य टेलिशृंखला मन पराइन्छ । किनकि मान्छे हाँस्न चाहन्छ । तर, अलिकति आफ्नाे सोचमा परिवर्तन गर्न सक्यौं भने हामीले हाँस्नका लागि टेलिभिजनका च्यानलमा दौडिरहनुपर्दैन । साधारण विषय–वस्तुमा समेत हाँस्न सकिन्छ । बालबालिका झैं हामीले पनि जीवनलाई हल्का रूपमा लिएर हाँस्ने अवस्था सिर्जना गर्न सक्छौं । हामी घर, कार्यालय वा बढी समय बिताउने स्थानमा हाँस्यास्पद पोस्टर राख्न सक्छौं । कम्प्युटरका स्क्रिन सेभर यस्तो छनोट गरौं, जसले हामीलाई एकपटक हाँस्न बाध्य बनाओस् । परिवार र साथीसँगको रमाइलो फोटो राख्न सकिन्छ । हामीले राम्रो परिस्थितिमा मात्र होइन, चुनौतीपूर्ण परिस्थितिमा पनि हाँस्न सक्नुपर्छ । नकारात्मक परिस्थितिलाई हाँस्यपूर्ण किस्सा बनाउने प्रयास गर्न सकियो भने धेरै तनावबाट हामी मुक्त हुन सक्छौं । हाम्रो आफ्नै दैनिक जीवनका क्रियाकलापमा सामाजिक कर्तव्यलाई पनि हाँस्य विषयवस्तु बनाउन सक्छौं । राजधानी दैनिकबाट
नेपालीरैबार । २०७८ बैशाख २५, शनिबार