गण्डकी प्रदेशमा थप ११ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलवार विज्ञप्ति जारी गरी प्रदेशमा कूल २८७ जनाको कोभिड–१९ का कारण ज्यान गएको जनाएको छ

पछिल्लो विवरण अनुसार मृत्यु हुनेमा कास्कीका ६ जना, रुपन्देहीका २, स्याङ्जा, म्याग्दी र तनहुँका १/१ जना छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा–१७ का ८४ वर्षीय पुरुषको सोमवार राति, स्याङ्जाको भीरकोट–१ का ६८ वर्षीय पुरुषको सोमवार दिउँसो मृत्यु भएको छ ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा सोमवार नै तनहुँको व्यास–१ की ५७ वर्षीया महिला र पोखरा–१६ की ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पतालमा रुपन्देहीको बुटवल–११ की ५५ वर्षीया महिला र पोखरा–८ का ६५ वर्षीय पुरुषको सोमवार राति मृत्यु भयो । मणिपालमै सोमवार राति म्याग्दीको बेनी–९ की ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

पोखरा–६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा सोमवार राति मृत्यु भयो भने होम हाइसोलेसनमै पोखरा–२१ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा सोमवार राति पोखरा–६ की १ महिलाको मृत्यु भयो ।

रुपन्देहीको सैनामैना–१ का ४० वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मंगलवार बिहान मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया