मुगु– कोरोनाको दोस्रो लहरको संक्रमणले पछिल्लो समय कर्णाली प्रदेशका जिल्लाहरूलाई पनि लपेटिरहेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि मुगुका स्थानीयलाई त्रास बढेको छ । कोरोनाको त्रासका कारण मुगुका नागरिकलाई खाद्यान्न जुटाउन हतारो भएको छ ।
बजार बन्द हुने हल्ला सुनेपछि चामल लिन सदरमुकाम गमगढी पुगेका छायानाथ रारा नगरपालिकाको शोभाका सुरबहादुर सावतले यो वर्ष खडेरीका कारण स्थानीय रैथाने बालीको उत्पादन घटेपछि खाद्यको चामल भौतारिनुपर्ने अवस्था रहेको सुनाए ।
‘यतिबेला ग्रामीण भेगका स्थानीयको सदरमुकाम गमगढी बजारमा खाद्यान्न किन्न भीड लागेको छ’, सावतले भने, ‘एकातिर कोरोनाको त्रास छँदै छ, घरमा खाने अन्न छैन । आङ ढाक्ने टालोसमेत छैन । खान अन्न पनि घरमा सकियो । त्यसैले चिन्ता थपिएको छ ।’ चामल लिन गमगढी बजार आए पनि भनेजति नपाएको उनले सुनाए ।
गत २२ वैशाखमा जिल्ला कोभिड- १९ संकट व्यवस्थापन समितिले जिल्लामा निषेधाज्ञा जारी गरेपछि स्थानीयलाई खानानानामा समस्या परेको हो । समितिले निषेधाज्ञा गरेपछि रोगसँगै भोकको त्रास बढेको हो ।
उनी मात्र होइनन्, खाद्यको चामल लिन आएकी वसन्ती परियारको पनि उस्तै वेदना छ । बन्द हुने हल्लाले घरबाट २ घन्टा पैदल यात्रा गरेर खाद्यान्न लिन गमगढी बजार आइपुगेको उनले बताइन् ।
‘बजार बन्द भए के खाने, कसरी भोको पेटलाई पाल्ने ?’ परियारले भनिन्, ‘हामीलाई रोगभन्दा भोकको चिन्ताले पिरोल्ने गरेको छ ।’ मुगुका ग्रामीण क्षेत्रबाट खाद्यान्न खरिद गर्न गमगढी आउने स्थानीको घुइँचो लाग्न थालेको उनले बताइन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगु शाखाका सूचना अधिकारी पुष्कर भामका अनुसार अहिले गमगढी बजारमा २ हजार ४ सय क्विन्टल चामल मौज्दात छ । पछिल्लो समय निषेधाज्ञा भएपछि गमगढी बजारको गोदामबाट दैनिक ९० जनासम्मले चामल लैजान थालेको उनले बताए ।
‘निषेधाज्ञा भयो । कोरोना संक्रमण पनि झनै बढ्न थाल्यो । भीडभाड पनि निकै हुन्छ । कार्यालयमा सामाजिक दूरी कायम राखेर चामल बिक्री भइरहेको छ’, भामले भने । अहिले दैनिक ८० क्विन्टलसम्म चामल बिक्री भइरहेको उनको भनाइ छ ।
यो साता नेपालगञ्ज र बर्दियाको राजापुरबाट ३ ट्रक चामल गमगढी ल्याइएको कम्पनीले जनाएको छ ।

नेपालीरैबार । २०७८ बैशाख २८, मंगलवार