जिल्ला अस्पताल सल्यानमा अक्सिजन सकियो

प्लान्ट स्थापनाका लागि आएका उपकरण १ वर्षदेखि गोदाममा

सुर्खेत । सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकिएको छ । २२ जना कोरोना संक्रमित उपचाररत रहे पनि नियमित अक्सिजन दिनुपर्ने गम्भीर विरामी नरहेकाले तत्कालका लागि अक्सिजन अभावमा मानवीय क्षति हुने खतरा भने छैन ।

३५ शय्याको अस्पतालमा कोरोना संक्रमितका लागि १६ शय्या छुट्याइएको थियो । त्यसले नपुगेर इर्मजेन्सी वार्डका रहेका थप ६ शय्यामा पनि कोभिडका विरामी राखिएको छ । अस्पतालमा अक्सिजनसहितको वेडहरु पर्याप्त नभएका कारण एक बेडमा दुई जनासम्म राख्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

‘अस्पतालसँग अहिले ३१ वटा सिलिण्डर छन् । ती मध्ये १९ सिलिन्डरमा अक्सिजन भर्न दाङ पठाएका थियौं, अहिलेसम्म आइपुगेको छैन, अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले  भने, ‘यहाँ रहेका १२ सिलिण्डर खाली भइसकेका छन् । हिजो राती देखि नै अक्सिजन सकिएको छ । अक्सिजन नियमित चाहिने विरामी आए भने हामीले हात उठाउनुबाहेक केहि गर्न सक्दैनौं ।’

तीन दिनअघि भर्न पठाए पनि लामो दूरी पार गर्नुपर्ने, समयमा पालो नपाइने र पानी परेका कारण बाटोसमेत अवरुद्ध हुने समस्याले अक्सिजन सिलिण्डर समयमै आउन नसकेको उनले बताए ।

‘हामीले चाहेर मात्रै हुँदो रहेनछ् । अीक्सजन नै नभएपछि हामीले कसरी नागरिकको उपचार गर्ने ? अक्सिजनको अभाव हुने र त्यसले विरामीको अवस्थामा गम्भीर क्षति हुन सक्ने भएका कारण हामीले अस्पतालमा विरामी ल्याउनुपूर्व आवश्यक सल्लाह लिएर मात्र ल्याउन भनेर आव्हान भनेका छौं । यसको हामीसँग विकल्प पनि छैन,’ डा. जैसीले भने

तपाईको प्रतिक्रिया