जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर ठाकुर र महतो बुधवार दिउँसो शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय भोलि सकिँदैछ ।
यो अवधिमा सरकार बन्न नसकेमा धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्दा केपी ओलीलाई समर्थन गर्ने महतो र ठाकुरले बताएका छन् ।
मध्यान्ह बालुवाटारमा छलफल गरेर ठाकुर र महतो शीतलनिवास पुगेको जसपाका एक नेताले लोकान्तरलाई जानकारी दिए ।
राष्ट्रपतिलाई भेटेर ठाकुर र महतोले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूहरूको समर्थन नरहेको र उपेन्द्र यादवले जारी गरेको विज्ञप्ति पार्टीको आधिकारीक निर्णय नभएको जानकारी गराएका छन् ।

नेपालीरैबार । २०७८ बैशाख २९, बुधबार