काेराेना भाइरस विरुद्ध लड्न के गर्दैछन् सुर्खेतका स्थानीय सरकार ?

सुर्खेत । कोरोना भाइरसको दोस्रो लहरविरूद्ध लड्न सुर्खेतका स्थानीय तह पनि जुर्मुराएका छन् । गत वर्षको कोरोना महामारी परास्त गर्न केन्द्र र प्रदेश सरकारको निर्णयअनुसार काम गरेका स्थानीय तहले यो वर्ष भने आफ्नै तवरबाट काम गरिरहेका छन् ।

कोभिड(१९ को जोखिममा रहेका जिल्लाहरूमा सुर्खेत पनि परेको छ । कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये सुर्खेतका मात्र ६ हजार १७३ जना छन् । यहाँ रहेको प्रदेश अस्पतालले बेलाबेला अक्सिजनको अभाव भोगिरहेका छन् । केही समयपछि बेड पनि अभाव हुने सम्भावना बढेको छ। यही अवस्थालाई मध्यनजर गरेर जिल्लाका केही स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलसन, अस्पताल बनाएका छन्। कोहीले बनाउँदैछन् ।

वीरेन्द्रनगर नगरपालिकाले प्रदेश अस्पताल स्थापना हुनुअघि जिल्ला अस्पतालका रुपमा रहेको कटकुवा सामुदायिक अस्पताललाई नगरपालिकाले २५ शैय्याको कोभिड अस्पताल बनाएको छ।

यसलाई नगर अस्पताल बनाउने योजना भ एपनि अहिले नै नगरपालिकाको मातहतमा आइसकेको छैन । ‘अहिले १० वटा सिलिन्डर खरिद गरेर हामीले २५ बेडेको कोभिड अस्पताल बनाएका छौं, हामी बाँकी सिलिन्डर पनि खरिद गर्ने प्रक्रियामा छौं,’ वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले भनिन्, ‘सिलिण्डर थपिएसँगै बेड पनि थपेर ५० वटा बनाउँछौं।’

अस्पतालमा अहिले दुई जना एमबिबिएस डाक्टरसहित स्वास्थ्यकर्मी खटाइएको छ । नगरपालिकाले नि:शुल्क रूपमा कोभिडका बिरामी बोक्न एम्बुलेन्सको पनि व्यवस्था गरेको छ ।‘यो त पूर्वाधारको कुरा भयो, अन्य नीतिगत तथा सचेतनाको बाटोबाट पनि हामी कोभिडविरूद्ध लागिरहेका छौं,’ उपमेयर ढकालले भनिन्।

चौकुने गाउँपालिकाले पनि ५० बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ। स्थानीय जीवज्योति माध्यमिक विद्यालयको भवन प्रयाग गरेर गाउँपालिकाले आइसोलसन बनाएको हो। आइसोलेसनमा अक्सिजनको पनि व्यवस्था गरिएको छ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार स्थानीय तहमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिलाई पनि कोभिड(१९ को नियन्त्रण तथा उपचारमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखिएको छ।

यस्तै, अध्यक्ष शाहीले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएका छन्। गाउँपालिकाभित्रका कोरोना संक्रमितहरूको उद्धार तथा अस्पतालसम्म पुर्‍याउन उनले आफ्नो प्रयोजनका लागि किनेको गाडी प्रयोग गर्न दिएका हुन् । उनले कोरोना संक्रमणबाट बच्न आफैं माइकिङ गर्दै पनि हिँडिरहेका छन्।

सिम्ता गाउँपालिकाले ५० बेडको अक्सिजनसहितको आइसोलेसन स्थापना गरेको छ। बजेडीचौर स्वास्थ्य चौकीमा आइसोलेसन स्थापना गरिएको हो। सिम्ता गाउँपालिकाले अस्पतालसम्म पुर्‍याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरेको छ।

लेकवेसी नगरपालिकाले १५ बेडको आइसोलेसन बनाएको छ भने एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्रको भवनलाई आइसोलेसनका रूपमा प्रयोग गरिएको छ। थप १५ वटा बेड थपेर ३० शैय्याको आइसोलेसन बनाइने मेयर गगनसिंह सुनारले बताए।

उक्त आइसोलसनमा तीन सिलिण्डर अक्सिजन राखिएको छ। विद्युतबाट जोडेर अक्सिजन दिन मिल्ने मेसिनहरू पनि जडान गरिएकोले सामान्य मात्रामा अक्सिजनको खासै समस्या नपर्ने उनले बताए।

भारतबाट आउनेहरूलाई १० दिनसम्म घरमै बस्न पनि नगरपालिकाले भनेको छ। विनियोजित विकास बजेटमध्ये सम्झौता नभएको योजनाहरूमा अब सम्झौता नगरी कोभिड नियन्त्रणका लागि रकमान्तर गर्ने निर्णय पनि गरिएको मेयर सुनारले बताए।

नगरपालिकाभित्र पर्ने साबिकका गाविस कार्यालयहरूमा एन्टिजेन र पिसीआर गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । भेरीगंगा नगरपालिकाले गत वर्षदेखि नै एउटा भवनलाई अस्थायी कोभिड अस्पताल बनाएको छ। यो वर्ष पनि १५ वटा अक्सिजनसहित २३ शैय्याको कोभिड अस्पताल सञ्चालन भइरहेको उपमेयर रेणु ढकालले बताइन्।

एक जना चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था पनि गरिएको छ। अहिले अस्थायी कोभिड अस्पतालमा चार जना कोभिडका बिरामी रहेको उनले बताइन्। नगरपालिकाले दुई वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ। जनचेतनामुलक कार्यक्रमहरू नगरपालिकाले नियमित गरिरहेको ढकालले बताइन्। हप्तामा एक दिन पिसिआर गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ।

पञ्चपुरी नगरपालिकाले दुई वटा एम्बुलेन्सको व्यवस्था गरेको छ। कोभिड संक्रमण भएर अस्पताल नै जानुपर्ने अवस्थाका बिरामीहरूलाई सहज बनाउन दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको हो। नगरपालिकाभित्र अक्सिजन भने छैन।

‘अहिलेलाई ५० बेडसहितको होल्डिङ सेन्टर बनाउन लागिएको छ, यदि प्रशासनले अक्सिजनको व्यवस्था गरिदियो भने हामीलाई केही तयारी गर्न सहज हुन्छ,’ मेयर उपेन्द्र थापाले बने।

गुर्भाकोट नगरपालिकाले पनि सभा, सम्मेलन आयोजना गर्न तयार पारिएको भवनमा आइसोलसन स्थापना गरेको छ। विकास आयोजनामा विनियोजित बजेटलाई रकमान्तर गरेर कोभिड रोकथाम तथा नियन्त्रणका लागि लाग्यो योजना नगरपालिकाको भएको मेयर हस्त पुनले बताए।

वीरेन्द्रनगरको नजिकै रहेको बराहताल गाउँपालिकाको कोभिड प्रतिकार्यका लागि आवश्यक तयारीमा भने सुस्तता देखाएको छ। गाउँपालिकाले तीनवटा सिलिण्डरसहित पाँच वटा बेडहरू भने तयार पारेर राखेको छ।

‘३०(३५ वटासम्म बेडहरू बनाउने कि भन्ने छ, अहिले त डाक्टर नभएकाले आइसोलेसन भन्न सकिएको छैन,’ गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भने। लक्षण देखिएका मानिसलाई भने परीक्षणको व्यवस्था गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया