जसपा विवाद चरम उत्कर्षमा : यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन ठाकुरको पत्र

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम समर्थन गर्ने र विरोध गर्ने दुई धारको विवाद उत्कर्षमा पुगेको हो ।

संविधानको धारा ७६ को ३ अनुसार नयाँ सरकार गठनका लागि अध्यक्ष महन्थ ठाकुर समूहले तटस्थ बसेर नै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सघाउ पुर्याएको थियो । यस्तै यो समूहले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका क्रममा ओलीलाई समर्थन गरेको थियो । त्यसलगत्तै जसपाभित्र एक समूहले अर्को समूहलाई कारबाहीको शृङ्खला सुरु भएको छ ।

विवाद बढ्दै जाँदा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोध्नुभएको छ । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरित काम गर्दै हिँडेको भन्दै यादवलाई स्पष्टीकरण सोध्नुभएको हो । ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गर्नुको कारण, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न जानुको कारणलगायत विषयमा प्रश्न सोधिएको छ ।

पार्टीको विधानको दफा ४९ अनुसार अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यलयमा पठाउन समेत अध्यक्ष ठाकुरले आग्रह गर्नुभएको छ । नागरिकता विधेयक आएसँगै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने तयारी गरिरहेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । जसपाको उपेन्द्र यादव समूहले पनि यसअघि महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो ।

तपाईको प्रतिक्रिया