कोरोना महामारीले अहिले धेरैको रोजगारी खोसिएको छ । रोजगारमूलक क्षेत्रहरू बन्द छन् । मजदुरहरूले काम नपाउने अवस्था छ । रोजगारीका लागि भारत लगायतका तेस्रो मुलुक र देशभित्रकै ठूला सहरमा रहेकाहरू पनि कोरोना त्रासपछि गाउँ फर्किएका छन् । रोजगारीका अवसर नपाएर छाक टार्नै मुस्किल भएका उनीहरूलाई पछिल्लो समय भने केही राहत मिलेको छ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बराहताल गाउँपालिका–२ मा सडक निर्माण गरिँदैै ।
पालिकाहरूले रोजगार कार्यक्रम कार्यान्वयन गर्न थालेसँगै स्थानीयले गाउँमै कमाउने अवसर पाएका हुन् । अहिले हरेक स्थानीय तहमा रोजगारमूलक कार्यक्रमहरू सञ्चालनमा छन् । छोटो अवधिको रोजगारी भए पनि यस्ता कार्यक्रमले निम्नवर्गीय परिवारलाई राहत भएको छ । पालिकाहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारका लागि रूपान्तरण कार्यक्रममार्फत रोजगारी सिर्जना गरेपछि उनीहरूलाई कमाउने मेसो मिलेको हो ।
कोरोना संक्रमण तीव्र बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । तर, यसबीचमा पनि विकास निर्माणका काम भने रोकिएका छैनन् । स्वास्थ्य सावधानी अपनाउँदै सम्बन्धित पालिकाहरूले साना योजनामा रोजगारमूलक कार्यक्रम सञ्चालन गरिरहेका हुन् । जसका कारण निषेधाज्ञाको बेला पनि मजदुरहरूले गाउँमै कमाइ गर्न पाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ज्याला पाँच सय १७ रूपैयाँ दिने गरिएको छ । यस कार्यक्रम अन्तर्गत एक जनाले एक आर्थिक वर्षमा एक सय दिन काम पाउने उल्लेख छ । यद्यपि केही स्थानीय तहले बेरोजगारको संख्या बढी भएकाले एक जनालाई १५ देखि २० दिनसम्म मात्र काम दिएका छन् । स्थानीय तहमा सूचीकृत बेरोजगार युवाले पूरै सय दिनको रोजगारी भने पाएका छैनन् । यो स्थानीय तहमार्फत कार्यान्वयन हुने अल्पकालीन रोजगारी हो । रोजगारी पाउन भने तोकिएको मितिमा सूचीकृत भएको हुनुपर्छ । १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले सूचीकृतका लागि निवेदन दिन पाउँछन् ।
गाउँमा रोजगारमूलक कार्यक्रम कार्यान्वयनमा गएपछि श्रमिकले कमाउने अवसर मात्र पाएका छैनन् विकास निर्माणका साना योजनाले पनि गति लिएका छन् । प्रधानमन्त्री रोेजगार कार्यक्रममा गोरेटो बाटो निर्माण, नाला निर्माण तथा सरसफाइ, सिँचाइ कुलो, खानेपानी मर्मत जस्ता साना योजनामा कामदारहरू खटाउने गरिएको छ । यतिबेला सुर्खेतका सबै स्थानीय तहमा रोजगार कार्यक्रम कार्यान्वयन भइरहेका छन् ।
चिङ्गाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न हुने क्रममा छन् । पालिकाका रोजगार संयोजक राजन कोइरालाका अनुसार चिङ्गाडमा प्रधानमन्त्री रोजगार कार्यक्रमका १८ वटा योजना छनोट गरिएको छ । जसमध्ये ११ वटा योजनाको काम सम्पन्न भइ भुक्तानी हुने क्रममा छन् ।
प्रधानमन्त्री रोजगार र युवा रोजगारका लागि रूपान्तरण कार्यक्रमका लागि करिब दुई करोड सात लाख बजेट पालिकामा आएको उनले बताए । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि मात्र यहाँ ३१ लाख बजेट आएको थियो । कोइरालाका अनुसार यी कार्यक्रमबाट दुई सय ३२ जनाले रोजगारी पाएका छन् । चिङ्गाडमा सडक मर्मत तथा स्तरोन्नति, नाली निर्माण, सिँचाइ कुलो निर्माणलगायत सामुदायिक पूर्वाधार विकासका कार्यक्रमहरू सञ्चालन गरिएको छ । यस्तै, मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट भर्खरै मात्र प्राप्त भएको पालिकाले जनाएको छ । यस अन्तर्गत दुई वटा योजनाको काम केही दिनमा सुरू हुनेछ ।
गुर्भाकोट नगरपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिले त्यहाँ कोरोना संक्रमणको दर बढेकोले जेठ १५ सम्म काम स्थगित गरिएको पालिकाले जनाएको छ । नगरप्रमुख हस्त पुनले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका अधिकांश योजनाहरूको काम भइसकेको जनाए । उक्त कार्यक्रम अन्तर्गत २८ वटा योजना छनोटमा परेको उनले बताए । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि भने गुर्भाकोटमा ५१ लाख बजेट आएको छ ।
चौकुने गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चार सय ६६ जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दुई करोड ४१ लाख १४ हजार नौ सय बजेट आएको रोजगार संयोजक भीम रावलले बताए । उनका अनुसार त्यहाँ ३७ वटा योजनामा काम भएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चार करोड २० लाख ४६ हजार बजेट आएको छ । यस कार्यक्रम अन्तर्गत छनोट भएका १८ वटा योजनामध्ये १६ वटामा काम सुरू भएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममा नौ सय सय २० जनाले रोजगारी पाएका छन् । सडक मर्मत, विद्यालयको फिल्ड निर्माण, सिँचाइ कुलो निर्माण लगायतका काम भएको पालिकाले जनाएको छ । पालिकाहरूले रोजगारमूलक कार्यक्रमका लागि सूचीकृत बेरोजगारको संख्या अनुसार बजेट पाउने गरेका छन् ।
लेकवेशी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दुई करोड २५ लाख बजेट छ । कार्यक्रममा चार सय ५१ जनाले रोजगारी पाउने छन् । यहाँ भने सबै योजनामा काम सुरू गरिएको छैन । केही दिनभित्र सबै योजनाको कार्यक्रम कार्यान्वयनमा जाने पालिकाले जनाएको छ । लेकवेशीमा २६ वटा योजना छनोट गरिएका छन् । तीमध्ये तीन वटा योजना सम्पन्न भएका छन् । लेकवेशीले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक करोड १० लाख बजेट पाएको छ । रोजगार संयोजक डिल्लीराम तिवारीले रोजगारीका कार्यक्रम सामाजिक सुरक्षासँग जोडिएकोले यस्तो संकटका बेला श्रमिकहरूलाई ठूलो सहयोग पुग्ने बताए ।
यो वर्ष वीरेन्द्रनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १७ वटा योजना सञ्चालन भएका छन् । रोजगार संयोजक खगेन्द्र केसीका अनुसार चार वटा योजना सम्पन्न भएर भुक्तानी भइसकेको छ । निषेधाज्ञामा पनि विकास निर्माणका कामहरू नरोक्ने भनेपछि वडाहरूमा काम भइरहेको उनले बताए । वीरेन्द्रनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एक करोड ५२ लाख २२ हजार रूपैयाँ बजेट आएको छ । नगरपालिकालाई मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३१ वटा योजनाका लागि आठ करोड बजेट प्रदेश सरकारले दिएको रोजगार संयोजक केसीले जानकारी दिए ।
यस्तै, सिम्ता गाउँपालिकामा १८ वटा योजनमार्फत रोजगारी सिर्जना गरिएको छ । रोजगार संयोजक हरिबहादुर बुढाका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एक करोड ४० लाख ८५ हजार बजेट पालिकालाई दिइएको छ भने दुई सय ७२ जनाले रोजगार पाएका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि तीन करोड ३४ लाख बजेट आएको उनले बताए । यस अन्तर्गत २१ वटा योजना सम्झौता भएका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रमबाट करिब दुई हजारले रोजगारी पाउने उनी बताउँछन् ।
पञ्चपुरी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्पन्न हुने चरणमा छ । कार्यक्रमका लागि दुई करोड ९३ हजार बजेट छ । २१ वटा योजनाको काम भइरहेको छ । चार सय पाँच जनाले रोजगारी पाएको पालिकाले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि यो वर्ष पालिकामा एक हजार चार सय जना सूचीकृत भएका छन् ।
त्यस्तै, बराहताल गाउँपालिकामा पनि रोजगारमूलक कार्यक्रम सञ्चालनमा छन् । यो वर्ष दुई सय ९९ जनाले रोजगारी प्राप्त गरेको पालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक सय ९९ जना र युवा रोजगारका लागि रूपान्तरण पहल कार्यक्रममा एक सय जनाले रोजगारी पाएका हुन । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यहाँ एक करोड ५४ लाख बजेट छ । उक्त गाउँपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि चार करोड ६४ लाख बजेट आएको रोजगार संयोजक रामकृष्ण गौतमले बताए ।
जस अन्तर्गत २१ वटा योजनाको काम हुनेछ । १३ वटा योजना सम्झौता भएर काम थालिएको गौतमले बताए । उनका अनुसार यहाँ सञ्चालित रोजगारमूलक कार्यक्रमबाट झण्डै दुई हजारले रोजगारी पाउने छन् । कोरोनाले अन्य रोजगारीका अववसर खोसेका बेला यी कार्यक्रमले निम्नवर्गीय परिवारलाई ठूलो राहत दिएको संयोजक गौतम बताउँछन् । त्यस्तै, भेरीगंगा नगरपालिकामा रोजगारमूलक कार्यक्रमका १९ वटा योजनाको काम भइरहेको छ । यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारका लागि रूपान्तरण पहल कार्यक्रम सञ्चालनमा छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि करिब दुई करोड बजेट पालिकाले पाएको छ ।मुना हमाल साझा बिसौनी दैनिक
नेपालीरैबार । २०७८ जेष्ठ १४, शुक्रबार