सुर्खेत उद्योग वाणिज्य संघद्वारा नियमित विद्युत आपूर्तिको माग

सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघले विद्युत आपूर्ति नियमित गर्न माग गरेको छ । सुर्खेतमा दैनिकजसो विद्युत अनियमित हुन थालेपछि संघले बुधवार विज्ञप्तीमार्फत विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रको ध्यानाकर्षण गराएको हो । पछिल्लो समय दैनिकजसो विद्युत सेवा अनियमित हुँदा उपभोक्ता आजित भएका छन् । प्राधिकरणको लापरवाहीले उपभोक्ता मारमा पर्नुका साथै उद्योग व्यवसाय नै चौपट भएको भन्दै संघले संघीय र प्रदेश सरकार समेतलाई यसतर्फ गम्भीर बन्न आग्रह गरेको छ ।

वर्षाैंदेखि विभिन्न निकायले हाइटेन्सन लाइन विस्तारका लागि आवाज उठाउँदै आए पनि संघीय सरकारको बेवास्ता र प्रदेशको उदासीनताका कारण अहिलेसम्म नागरिकहरूले दुःख पाइरहेको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘निषेधाज्ञाको पूर्णपालना गर्ने क्रममा अहिले सबै घरमै सीमित भएको र गर्मी समेत बढ्दै गएको अवस्थामा विद्युुत बारम्बार अनियमित हुँदा सबैलाई आक्रान्त बनाइरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश राजधानी भएको ठाउँमा दिनहुँ विद्युत अनियमित हुनुले राजधानीको दुरावस्था उदाङ्गो मात्र पारेको छैन । विद्युत प्राधिकरण सुर्खेतको असक्षमता र लापरवाहीको पराकाष्ठा समेत पार गरेको छ ।’

छिनछिनमा आउने–जाने विद्युतका कारण घरायसीदेखि उद्योग, कारखानाका मेसिनमा समस्या हुँदा आर्थिक व्ययभार समेत बढेको तथा कोरोना संक्रमित रहेका अस्पताल, स्वास्थ्य संस्थाहरूमा रहेका अक्सिजन प्लान्ट सञ्चालनमा समेत समस्या देखिएको विज्ञप्तीमा उल्लेख छ । विद्युतको समस्या समाधान गर्न प्रदेश सरकारले ठोस तथा दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्न संघले आग्रह गरेको छ । अब पनि विद्युत समस्या बल्झिरहने स्थिति भए महसुल नतिरी विद्युत कार्यालय घेराउ, धर्ना जस्ता विरोधका कार्यक्रम गर्न बाध्य हुने संघले चेतावनी दिएको छ । साझा बिसौनी दैनिकमा समाचार छ । 

तपाईको प्रतिक्रिया