सत्यको पक्षमा वकालत गर्दा जित भयो र न्यायपालिकाप्रति विश्वास बढ्यो ः सांसद ज्वाला

सुर्खेत । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि कर्णाली प्रदेश सभाका सांसद प्रकाश ज्वालाले सत्यको पक्षमा सधै अडिक भएर वकालत गर्दा जित भएको प्रतिक्रिया दिएका छन् । सत्य र न्यायको पक्षमा आवाज बुलन्द पार्दै लड्दै आइरहेको र आज त्यसैको जित भएको सांसद ज्वालाले बताएका हुन् ।

पुनर्बहाली भएका कर्णाली प्रदेश सभा सांसद प्रकाश ज्वाला ।

सत्यको पक्षमा भएकै कारण सम्मानित अदालतले पुनर्वहाली गरेपछि न्यायापालिकाप्रति विश्वास बढेको ज्वालाले नेपालीरैबारलाई जानकारी दिए । ‘मेरो राजनीतिक ईतिहासमा गलत, अन्याय, असत्य नसहेर सत्यको पक्ष्मा वकालत गरिरहे,’ ज्वालाले भने, ‘हिजो मन्त्री हुँदा पनि कर्णालीवासीकै पक्षमा काम गरेको र बाँकी कार्यकाल पनि जनताकै हित र प्रदेशको विकासमा काम गर्नेछु ।’ स्थिर सरकार, प्रदेशको विकास र जनताको हितका पक्षमा उभिएकाले न्याय पाएको ज्वालाको भनाई छ ।

पार्टीको ह्विपविपरीत वैशाख ३ गते एमालेका सांसदहरु ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले मुख्यमन्त्री महेन्द्रबहाुदर शाहीलाई विश्वासको मत दिएका थिए। ज्वाला सल्यान प्रदेशसभा ख०, बुढा डोल्पा प्रदेशसभा (क), शाही कालिकोट प्रदेशसभा (क) र थापा दैलेख क्षेत्र नं. १  (ख) बाट निर्वाचित सांसद हुन् ।

तीमध्ये ज्वालाबाहेक शाही, बुढा र थापा हाल मन्त्री छन् । शाही भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री, बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र थापा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री छन्। उनीहरुलाई मुख्यमन्त्री शाहीले बैशाख ४ गते मन्त्रीमा नियुक्त गरेका थिए ।

पार्टीको ह्विपविपरीत फ्लोरक्रस गरेको भन्दै पार्टी एमालेले कारबाही गरेको पत्रपछि प्रदेशसभा सचिवालयले वैशाख १३ गते उनीहरुलाई निलम्बन गरेको थियो।

सांसदको पुनर्वहालीसँगै कर्णाली प्रदेशसभामा पुनः नेकपा (एमाले)को एकल बहुमत फर्किएको छ। कायम रहेको ३९ प्रदेशसभा सदस्यमध्ये सभामुख (राजबहादुर शाही) सहित एमालेका सांसदको संख्या २० पुगेको छ । प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।

यो निर्णयसँगै माओवादीबाट कारबाहीमा परेका दैलेखका पूर्व सांसद धर्मराज रेग्मी पनि पुनर्वहाली हुने सम्भावना बढेको छ । हाल कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस र फ्लोरक्रस गरेको एमालेसहितको सरकार छ ।

तपाईको प्रतिक्रिया