काठमाडौं । धन र मन मिल्ने साथी थिए । जबदेखि विदेश आए, सुरुमा त बल्ल बल्ल भेटेको जस्तोसुकै काम गरेर भए पनि हातमुख जोड्दै थिए ।
तर धेरै वर्षको कडा मिहिनेतपछि दुवै मिलेर एउटा रेस्टुरेन्टको व्यापार सुरु गरेँ । किनभने दुवैमा विश्वास थियो, साथीको साथ नै जीवनको सफलताको एउटा बलियो शक्ति हो । सबैथोक ठीकठाक चल्दैथियो ।
एक दिन उनीहरू ब्यापारकै सिलसिलामा अर्को ठाउँ जानुपर्ने भयो । धन मनको कारमा सँगै गए । मन कार हाक्दै थिए । अचानक बाटोमा गाडी हिउँको चिप्लोमा चिप्लिएर तल फाँटमा खसेर रूखमा ठोक्कियो । आँखा खुल्दा दुवैजना हस्पिटलमा थिए । धनको हातमा ब्यान्डेज थियो । दुवैजनाको जिउमा ठाउँठाउँमा कोतरिएका घाउ थिए ।
धनलाई मानिसहरुले उचाले । दुई साथीको मिलन र राम्रो व्यापार गरेर उन्नति प्रगति गरेको देखी नसहनेले भन्न थाले
‘धन तिमी मनलाई मुद्दा हाल ।’
‘हैन हैन यो त एक्सिडेन्ट हो, जानी जानी गरेको होइन’ धनले भने ।
‘उसले विचार गरेर हाँक्नु पथ्र्यो नि । यस्तोमा साथी भन्न हुँदैन तिम्रो ज्यान जान सक्थ्यो ।’
एक्सिडेन्टको वकिलले पनि मौकामा चौका हान्दै ब्रेनवास गरे पछि कुरो अदालत पुग्यो ।
त्यसपछि तारिखका लागि धाउन पर्ने, वकिलको फिस, दाबीको हर्जाना गर्दै सबैले सबैतिरबाट पैसा सोस्न थाले । अनि धन र मनको त्यति लामो र मधुर मित्रता टुट्यो । होटेल बेचियो ।
धनले क्षतिपूर्ति स्वरूप केही धन त पाए । तर उनलाई लाग्यो ‘जाबो धनका लागि मैले यो के गरेँ । साथी गुमाएँ । व्यापार गुमाएँ । विश्वास गुमाएँ । सम्बन्ध गुमाएँ । खुसियाली गुमाएँ ।’
धनले चिन्तित भएर खुइया गरे । अब उनलाई नै थाहा छैन उनले न्याय पाए कि सबै थोक गुमाए । लस एन्जेलस
नेपालीरैबार । २०७८ जेष्ठ २९, शनिबार