महामारीकै बीचमा ८ खर्ब बढी राजस्व संकलन

काठमाडौं । कोभिड–१९ महामारीकै बीच सरकार राजस्व लक्ष्यको करिब–करिब नजिक पुगेको छ । महालेखा नियन्त्रकको कार्यालय अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकार अधिकतम ८ खर्ब ९४ करोड माथिको राजस्व उठाउन सफल भएको छ ।

यो चालु आर्थिक वर्षका लागि सरकारले राखेको कुल १० खर्ब ११ अर्ब ७५ करोड राजस्व लक्ष्यको ८०.०१ प्रतिशत हो । यस्तो राजस्व कर तर्फ ७ खर्ब ५६ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८२.८६ प्रतिशत र गैर–कर तर्फ ५२ अर्ब ९४ करोड अर्थात् लक्ष्यको ५३.५९ प्रतिशत उठाउन सफल भएको महालेखाको तथ्याङ्कले देखाएको छ । यस्तो लक्ष्य सरकारले गैर–कर तर्फ कुल ९८ अर्ब ८० राखेको थियो ।

यता, अनुदान तर्फ भने कुल ६० अर्ब ५२ करोड उठाउने लक्ष्य राखेको सरकारले ११ महिनामा लक्ष्यको १६.६५ प्रतिशत अर्थात् १० अर्ब ७५ करोड मात्र उठाउन सकेको महालेखाले जनाएको छ ।

११ महिनामा पुँजीगत खर्च ३९ प्रतिशत मात्रै

महालेखा नियन्त्रकको तथ्याङ्क अनुसार सरकारले चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च लक्ष्यको ३९.९४ प्रतिशत मात्र खर्च गर्न सकेको छ । यस वर्ष लागि कुल ३ खर्ब ५२ अर्ब ९१ करोडको विकास खर्च अर्थात् पुँजीगत खर्च छुट्याएको सरकारले जेठ अन्तसम्ममा (११ महिना) जम्मा एक खर्ब ४० अर्ब ९४ करोड मात्र खर्च गर्न सकेको छ ।

तर, यता नियमित अर्थात् चालु खर्च तर्फ भने सरकारले ११ महिनामा लक्ष्यको ७३.३७ प्रतिशत अर्थात् कुल ६ खर्ब ९६ अर्ब २४ करोड खर्च गरिसकेको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु खर्च तर्फ कुल ९ खर्ब ४८ अर्ब ९४ करोड रकम विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया