सुर्खेत । कर्णालीका विभिन्न अस्पताललाई सात वटा अक्सिनज कन्स्ट्रेटर सहयोग गरिएको छ । कर्णाली समाज जापान र कोरियाद्वारा बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई कर्णाली समाज कोरियाका सल्लाहकार अध्यक्ष लक्ष्मी प्रसाद ढकाल तथा समाज जापानका सल्लाहकार प्रेम रावलले संयूक्तरुपमा सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
कर्णाली प्रदेशबाट रोजगारी तथा अध्ययनको सिलशिलामा कोरिया र जापानमा रहेका कर्णालीवासीको संयूक्त सहयोगमा उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । करिव १७ लाख ५० हजार नेपाली मूल्य बराबर १० लिटर क्षमताको अक्सिजन कन्स्ट्रेटर कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई हस्तान्तरण गरिएको छ ।
यस्तै मिसन अस्पताल चौरजहारी रुकुमपश्चिम, जनमैत्री अस्पताल रास्कोट कालिकोट र जिल्ला अस्पताल दैलेखलाई कन्स्ट्रेटर हस्तान्तरण गरिएको हो । दोस्रो लहरको कोरोना भेरियन्टले आक्रान्त भएको कर्णालीमा संक्रमणको दर उच्च भएपछि हाल अस्पतालहरुमा अक्सिजनको अभाव छ ।
आफ्नो सहयोगले अक्सिजन नपाएर अस्पतालमा छट्पटिएका विरामीलाई राहत होस् भन्ने अपेक्षा लिइएको संस्थापक अध्यक्ष ढकालले बताए । यस्तै कर्णाली समाज जापानका अध्यक्ष कृष्ण शाहीले भरपर्दो स्वास्थ्य पूर्वाधारविना महामारीसँग लडिरहेको कर्णालीका अस्पताललाई अक्सिनज कन्स्ट्रेटर सहयोगले कोरोनासँग लड्न सहज हुने बताए ।
सहयोगका लागि प्रवासमा रहेका युवाहरुलाई धन्यबाद व्यक्त गर्दै उनले विपत्तिको बेला प्रवासबाट सहयोग गर्ने मनहरुप्रति उच्च प्रशंसा गरे । सहयोग सामाग्री पत्रकार नगेन्द्र उपाध्यायको समन्वयमा वितरण गरिएको थियो ।
नेपालीरैबार । २०७८ असार २, बुधबार