काठमाडाैं । कोरोना व्यवस्थापन निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम रोक्ने र अत्यावश्यक बस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको हो।
सवारी साधनमा जोररबिजोर, सरकारी कार्यालय सातामा दुई दिन बिदा, निश्चित क्षेत्र मात्रै खोल्नेलगायतका विकल्पमा छलफल गरी स्मार्ट लकडाउन गर्न लागिएको हो । असार ७ गतेसम्म कोरोना संक्रमणको अवस्था अध्ययन गरेर थप निर्णयमा पुगिने निर्देशक समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले बताए ।
‘अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ,’ बैठकपछि समितिका एक सदस्यले भने।
यो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढने गरी हवाई उडान सञ्चालन हुने छन्।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।यसैगरी गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाइ ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
नेपालीरैबार । २०७८ असार ३, बिहीबार