वीरेन्द्रनगरलाई अब उप-महानगरपालिका बनाइने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई उप महानगरपालिका बनाइने भएको छ । विहिबार नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने घोषणा गरेको हो ।

नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणाका लागि प्रदेश तथा संघीय सरकारसँग अनुरोध गरेकी हुन् । कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकालाई नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार छिट्टै उपमहानगरपालिका घोषणा गर्ने तयारी छ ।

यस्तै वीरेन्द्रनगरले आर्थिक आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको छ । माहामारी रोकथाममा केन्द्रित बजेटमा स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । उपप्रमुख ढकालले नगरसभा मार्फत सार्वजनिक गरेको बजेटमा वातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड ५ लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ६ करोड ८ लाख १६ हजार विनियोजन गरिएको छ ।

त्यस्तै चालुतर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पूजीँगत तर्फ ४३ करोड ३१ लाख ३६ हजारको बजेट सार्वजनिक गरिएको छ । सर्सत अनुदानतर्फ ४ करोड ८९ लाख ६३ हजार र सामाजिक विकास तर्फ १३ करोड २४ लाख ७२ हजार र पूर्वाधार तर्फ १८ करोड २२ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया