जुम्ला । जुम्लाको कृषि बालीमा बर्सेनि विषादी प्रयोग बढ्दै गइरहेको छ। जुम्लामा रोपिने मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग भएको पाइएको हो।
चन्दननाथ नगरपालिका ८ वडाको तलिममा मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर प्रयोग हुँदा मानव स्वास्थ्यमा विभिन्न खालको असर देखिने गरेको स्थानीय धर्मराज बोहोराले बताए। उनले भने, ‘धानखेतमा प्रयोग गरिएको झारनाशक औषधि ‘ब्युटाक्लोरले पशुवस्तु मरेका छन्।‘
सबैभन्दा नजिकै रहेको स्थानीय वडा सरकारले यस विषयमा खासै चासो नदिएको स्थानीयले बताएका छन्। स्थानीय धर्मराज बोहोराले भने, ‘यतिबेला मार्सीधान गोडमेल गर्ने समय आएको छ। झारनाशक औषधि ,ब्युटाक्लोरको प्रयोग गरेकै कारण गोडमेल गर्न जाने महिलालाई टाउको दुख्ने, घाँटी दुख्ने जस्ता समस्या देखिएका छन्।‘
यता, चन्दाननाथ नगरपालिका ८ वडाका अध्यक्ष नरजित दमाईंले भने यसअघि आफ्नो वडामा कहिले पनि ब्युटाक्लोरको प्रयोग भएको नभएको दाबी गरे। वडा अध्यक्ष दमाईंले पहिलो पटक कृषकलाई विषादी प्रयोग गर्दा पर्ने असरको बारेमा सचेताका तालिम दिने बताए।
सचेतना कार्यक्रमपछि अटेरी गर्ने किसानलाई कानुनी कारबाही अगाडि बढाइने पनि उनले बताए। उनले लुकीछिपी ब्युटाक्लोरलगायतका रासायनिक विषादी प्रयोग भएको र बिक्री वितरण गरिएको जानकारी आएकाले किसानलाई सचेत गराउने उनले प्रतिबद्धता गरे।
त्यस्तै, कृषिजन्य उत्पादनको बजारीकरणका लागि पहल भइरहेका बेला रासायनिक विषादीको प्रयोगले किसानलाई नै नोक्सानी हुने, कृषि बिकास कार्यालयमा प्रमुख बालक राम देवकोटाले बताए । उनले भने, ‘बारम्बार ब्युटाक्लोर प्रयोग नगर्न किसानलाई आग्रह गरिएको छ।‘
यसले पार्ने असरको बारेमा सचेतनासम्बन्धी नाटक जस्ता सामग्रीको प्रचारप्रसर गरिएको छ। किसानले सूचनाको अटेर गरी आफ्नो मनोमानी धानमा ब्युटाक्लोर प्रयोग गर्दा पछि गएर धानको ढाड कुहिने समस्या देखिने बताए। गोडमेल गर्न सजिलोको वहनामा अधिकांश किसानले लुकीछिपी विषादीको प्रयोग गर्ने गरेको पाइन्छ। यस विषयमा सम्बन्धित निकायको ध्यान गएको देखिँदैन।
तर जुम्लाका मार्सी धानसहित यहाँको अर्गानिक बालीको रासायनिक विषादीको विकल्प अर्गानिक जीवजन्तु तथा जैविक मल कारखानाको स्थापना गर्न लामो समयदेखि किसानले माग गर्दै आएका छन्। – thahakabar
नेपालीरैबार । २०७८ असार ११, शुक्रबार