चीनको अन्तरिक्षयानले मङ्गल ग्रहबाट पठाएका भिडियो सार्वजनिक

एजेन्सी / मङ्गल ग्रहबाट चीनको अन्तरिक्षयानले भिडियो खिचेको छ ।

चीनको अन्तरिक्ष निकायले अन्तरिक्षयान जोरुङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियो सार्वजनिक गरेको हो । रोबोटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले भिडियो खिचेको हो । रोबोटले अहिले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको जनाएको छ । सार्वजनिक भिडियोमा आवाज पनि सुनिएको छ ।

चीनको अन्तरिक्ष निकाय द चाइना नेसनल स्पेस एजेन्सी (सिएनएसए)का अनुसार जोरुङले मङ्गल ग्रहको ४२ दिनमा दुई सय ३६ मिटर गुडेको छ । मङ्गल ग्रहको एक दिनमा २४ घण्टा ३९ मिनेट हुन्छ । मङ्गल ग्रहमा अवतरण गरेको रोभरले राम्रो काम गरिरहेको बताइएको छ ।

केही साताअघि मात्र रोभरले आफ्नो सेल्फीसहित केही अन्य तस्बिरहरू पठाएको थियो । रोभरले उक्त ग्रहको सतहमा रहेका चट्टान, वातावरण तथा मौसमबारे अध्ययन गर्दै छ । वैज्ञानिकले यानले मङ्गल ग्रहमा कम्तीमा ९० दिन काम गर्दै त्यस वरपरको भूगर्भ र ग्रहमा जीवनको सङ्केत छ वा छैन भनेर अध्ययन गर्ने अपेक्षा राखेका छन् । (बिबिसी)

तपाईको प्रतिक्रिया