काठमाडौं । अर्थमन्त्रालयले रकम निकासा नगरेको भन्दै बीमा कम्पनीहरूले कोरोना बीमा दाबी भुक्तानी ठप्प बनाएका छन् । गत वर्षबाट सुरु भएको कोरोना बीमा कार्यक्रम पनि यही असार मसान्तमा सकिँदैछ ।
कोरोना संक्रमितलाई लक्ष्यित गर्दै आकर्षक बीमा कार्यक्रम ल्याएपछि लाखौं मानिस यसमा जोडिएका थिए । संक्रमितको संख्या ह्वात्तै बढ्दा कम्पनीहरूले हात उठाएर यसको आर्थिक व्ययभार सरकारले बोकेको छ । तर, केही समयदेखि सरकारले पनि पैसा नदिएको भन्दै कम्पनीहरूले भुक्तानी गरेका छैनन् ।
अहिले बीमाको बक्यौता रकम ५ अर्ब नाघेको छ । नेपाल बिमक संघको तथ्याङ्कअनुसार गत जेठ महिना सम्ममा ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको थियो । यसमा सरकार मातहतको बीमा समितिको एक अर्ब रुपैयाँ छ भने बाँकी पैसा बिमक संघ र बीमा कम्पनीहरुको हो ।
साढे तीन अर्बभन्दा बढीको दावी पर्न आए सरकारले नै बहन गर्ने भनेको थियो । तर, अहिलेसम्म अर्थमन्त्रालयले एक पैसा पनि नदिएको कम्पनीहरूले बताएका छन् । रकम भुक्तानीका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा पत्र पठाइसकेको विमक संघका महासचिव चंकी क्षेत्रीले बताए । बीमा कम्पनी माथिको रकम सरकारले तिर्ने बताए पनि अहिलेसम्म सरकारबाट एक रुपैयाँ पनि भुक्तानीका रुपमा नआएको उनको दावी छ ।
महासचिव क्षेत्री भन्छन्, ‘सरकारले आफनो दायित्वमा लिएको रकम निकासी गर्न ढिलाइ गर्दा कम्पनीहरुलाई अफ्ठेरो परिरहेको छ ।’ क्षेत्रीका अनुसार अहिले कोरोना बीमावापत ५ अर्ब ७८ करोड ६ लाख रुपैयाँ विमितलाई भुक्तानी गर्न बाँकी छ । रकमका लागि अर्थ मन्त्रालयमा ताकेता गर्दा अहिलेसम्म कुनै जवाफ नपाइएको उनी बताउँछन् ।
‘पहिला बीमा कम्पनीले रकम भुक्तानी गरेनन् भनेर नकारात्मक प्रचार गरियो । अहिले अर्थमन्त्रालयले रकम निकासी नगर्दा पनि कम्पनी नै घानमा परेका छन्,’ उनले भने । अर्थ मन्त्रालयले भने यस विषयमा अहिले कुनै छलफल नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता महेश आचार्यले एक महिनाअघि नै कोरोना बीमाको रकम भुक्तानीका लागि पत्र आएको भए पनि छलफल नभएको बताए ।
हालसम्म जम्मा ९७ हजार ६ सय २८ जनाले कोरोना बीमा दावी भुक्तानीका लागि निवेदन दिएका छन् । उनीहरुको भुक्तानी गर्दा ९ अर्ब ३७ करोड ६६ लाख ८ हजार ७ सय ५४ रुपैयाँको भार पर्छ । अहिले विमक संघमा ८० हजार २ सय ८६ वटा निवेदन स्वीकृत भइसकेका छन्, जसवापत ७ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ भुक्तानी हुनुपर्छ । यसमा आफूहरुले सकेको मात्र भुक्तानी गरेको क्षेत्री बताउँछन् ।
नेपालीरैबार । २०७८ असार १६, बुधबार