स्पेनलाई रोक्ने दाउमा स्विट्जरल्यान्ड, बेल्जियम र इटालीको खेल पनि आजै

काठमाडौं । युरो कप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन्। युरो कप अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुनेछन्। पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन्।

स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ। पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ। त्यसका लागि स्विट्जरल्यान्ड र स्पेन जित निकाल्न चाहन्छन्।

स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। प्रि(क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको थियो। तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो। प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित थियो।

स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा भने दुई टिमबीच तीन पटक खेलेका छन्। जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ। दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा स्पेनले १६ खेल जितेको छ। पाँच खेल बराबरीमा सकिँदा एक खेल स्विट्जरल्यान्डले जितेको छ।

बेल्जियम र इटालीबीचको दोस्रो क्वाटरफाइनल खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ। खेल राति १२:४५ बजे सुरु हुनेछ। उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन्। यी दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।

फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो। प्रि(क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो। इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो। प्रि(क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको हो।

दुई टिमबीच हालसम्म २२ खेल भएको छ। जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ। मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ।

तपाईको प्रतिक्रिया