काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप खरिदका लागि चीनसँग गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा खोप आगामी शुक्रबार नेपाल आइपुग्ने भएको छ ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलका अनुसार जुलाई ८ तारिख अर्थात् २४ असारमा खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारको निर्देशनबमोजिम जुलाइ ९ तारिखमा १० लाख मात्रा खोप लिएर नेपाल फर्किने तयारी गरिएको महाप्रबन्धक पौडेलले जानकारी दिए । त्यससम्बन्धी विस्तृत ‘सेडुल’ आइतबार तयार पारिनेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो ।
नेपालले खरिद गरेको खोप क्रमिक रूपमा भित्रने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोडको निर्धारित बजेटभित्र रहेर चीनबाट भेरोसिल खोप खरिद प्रक्रिया अघि बढाइएको थियो । हालसम्म चीनबाट २१ लाख ४८ हजार खोप प्राप्त भएको छ ।
यस्तै, स्वास्थ्य मन्त्रालयले चीनबाट प्राप्त भएको भेरोसिल खोप प्राथमिकता रहेको सूचीका आधारमा लगाउने जनाएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार भेरोसिल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइनेछ ।
– ६० वर्षमुनिका नागरिक खोपको प्राथमिकतामा
– २६ लाखले पहिलो र साढे ७ लाखले दोस्रो मात्रा लगाए
उनले कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरण गरिएको र सोही आधारमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । डा. पोखरेलका अनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्नेछन् ।
यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी पनि दोस्रो प्राथमिकताको सूचीमा राखिएको छ । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएकाले उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकअनुसार २६ लाख ४ हजार ८ सय ६६ जनाले खोपको पहिलो मात्रा र ७ लाख ५७ हजार ६ सय ३५ जनाले दुवै (पहिलो-दोस्रो) मात्रा लगाइसकेका छन् । हालसम्म नेपालमा ४२ लाख ४८ हजार मात्रा (कोभिसिल्ड र भेरोसिल) खोप भित्रिएको छ । सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने योजना बनाएको छ ।
‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार एनडीए भनेको खरिद प्रक्रियामा सर्त राख्नु हो । जनस्वास्वास्थ्य विज्ञहरूका अनुसार यो नन डिस्क्लोजर एग्रिमेन्ट एउटा कानुन सम्मत सम्झौता हो । जसले सम्झौताको गोपनीयता सम्बन्ध स्थापित गर्छ ।
यसैबीच, शुक्रवार देशभर २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ९१ र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १ सय ७९ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, शुक्रबार थप ३ हजार ४ सय ५१ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताए । उनले जोखिमबाट बच्न भौतिक दूरी कायम गर्न र मास्कको समुचित प्रयोग गर्नपर्ने भन्दै हेलचेक्र्याइँ गर्न नहुने सुझाए । राजधानी दैनिकमा समाचार छ।
नेपालीरैबार । २०७८ असार १९, शनिबार