काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १५० भन्दा बढीको समर्थन रहने दाबी गरेका छन् । आफूसँग आवश्यक बहुमत संख्या रहेकाले विश्वासको मत लिनको लागि ढिला नगरेको उनीहरूको दाबी छ ।
कांग्रेसका एक पदाधिकारीले सभापति देउवाको पक्षमा १५० भन्दा बढीको समर्थन रहने दाबी गरे । ‘देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसदमा केही थपिएर संख्या १५० भन्दा बढी हुन्छ,’ उनले भने ।
देउवा पक्षीय अर्का केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देउवाको पक्षमा स्पष्ट बहुमत रहेकोले आजै विश्वासको मत लिने तयारी भएको बताए । नेकपा एमालेले भने हतार–हतारमा विश्वासको मत लिन लागेको भन्दै विरोध जनाएको छ ।
‘हामीसँग आवश्यक बहुमत रहेकाले प्रतिनिधि सभाको अधिवेशन शुरू भएकै दिन विश्वासको मत लिन खोजेका हौं,’ प्रतिनिधि सभाका सदस्य समेत रहेका विश्वकर्माले लोकान्तरसँग भने । उनले मन्त्रिपरिषद् विस्तारलगायतको काम पूरा गर्न पनि छिट्टै विश्वासको मत लिन प्रयास गरिएको बताए ।
देउवाको पक्षका कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र राष्ट्रिय जनमोर्चाका एक सांसद खुलेका छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन १२ जना सांसदले हस्ताक्षर गरेकोमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा सो संख्या बढेर १७ पुगेको सो समूहले दाबी गरेको छ ।

नेपालीरैबार । २०७८ श्रावण ३, आईतवार