स्पष्टीकरणले भाँजो हालेपनि एकता प्रक्रिया जोगाउने माधव समूहको निष्कर्ष

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्ष निकालेको छ। बुधबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले एकता प्रक्रियालाई जोड दिने सहमति भएको नेता रघुजी पन्तले जानकारी दिए।

एकता प्रक्रियालाई राम्ररी अघि बढाउनुपर्छ र एकतालाई जोड दिनुपर्छ भन्ने विषयमा हामी सबैको सहमति भयो- बैठकको निर्णय सुनाउँदै पन्तले भने। एकता प्रक्रिया चलिरहेका बेला वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुश र पुतला जलाउने कार्य तत्काल रोक्न बैठकले माग गरेको उनले बताए।

‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध नाराजुलुश र पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ’

बैठकले पारित गरेको प्रस्ताव सुनाउँदै पन्तले भने, ‘यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गर्दछ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टीकरण सोध्नुले एकतामा भाँजो हाल्ने काम गरेको नेता पन्तको भनाइ छ। बैठकमा पार्टी उपाध्यक्ष भीम रावल अनुपस्थित थिए।

तपाईको प्रतिक्रिया