कोरोना तेस्रो लहर : समयमै सजक बनौं !

स्वाथ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने भन्दै सजकता अपाउन अनुरोध गरेको छ । मन्त्रालयका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा पाँच महिनामा एक लाख ९३ हजार बढी नयाँ संक्रमित थपिने जोखिम छ । संक्रमितमध्ये २८ हजारलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।

तर लापारवाहीका कारण कर्णाली प्रदेशमा भने पछिल्लो समय जटिल प्रकृतिका कोरोना संक्रमित बढ्न थालेका छन् । निषेधाज्ञा हटाइसँगै कोरोना संक्रमितको दर निरन्तर उकालो लागेको छ । भने नागरिकले पनि स्वास्थ्य मापदण्ड पालना गर्न छोडेका छन् । एकातिर भोको पेट भर्नकै लागि संक्रमित बढेपनि काम गर्नुपर्ने नागरिकको बाध्यता छ । तर अर्कोतिर स्वास्थ्य मापदण्ड पालना नगरी काम तथा भिडभाड गर्दा संक्रमणको जोखिम उच्च छ । सुर्खेतसँगै कर्णाली प्रदेशमा विभिन्न व्यवसायीहरुले पनि स्वास्थ्य मापदण्ड पालना नगरी व्यवसाय संचालन गरिहेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पछिल्लो एकसाता जटिल प्रकृतिका संक्रमितहरु बढ्न थालेपछि सबैमा त्रास पनि फैलिएको छ । निषेधाज्ञा अवधिमा दैनिक ४÷५ जना जटिल प्रकृतिका बिरामी आउने अस्पतालमा हाल निषेधाज्ञा खुकुलो हुदाँ दैनिक १० देखि १२ जनासम्म जटिल प्रकृतिका बिरामी भर्ना हुने गरेका छन् ।

 

कोरोनाको दोस्रो लहर नसकिदै निषेधाज्ञा खुलेपछि नागरिकले पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न छाडेका हुन् । हवीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा पनि हाल जटिल प्रकृतिका बिरामी उपचारका लागि आउने गरेका छन् । बाह्य जिल्ला र भारतमा रहेका नागरिक समेत धान रोपाइँ लगाएत घरायसी कामका लागि गाउँ फर्कन थालेपछि सहरभन्दा गाउँमा झन् कोरोना जोखिम उच्च छ । संभावित जोखिम न्यूनिकरणका लागि प्रत्येक स्थानीय तहमार्फत गाउँगाउँमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आवश्यक देखिन्छ । नत्र कर्णालीमा झन् जटिल स्थिति आउनसक्ने अनुमान छ । जटिल प्रकृतिका संक्रमित बढेपछि कर्णाली प्रदेश अस्पतालको कोभिड विशेष अस्पताललाई भेन्टिलेटर जडानसहितको एक सय बेड बनाउन चिकित्सकले आग्रह गरेका छन् । तर जटिल प्रकृतिका बिरामीलाई बचाउन रिफर गर्ने मेकानिजम तयार पार्नुका साथै आवश्यक भौतिक संरचना र दक्ष जनशक्ति व्यवस्थापन छैन ।

 

निषेधाज्ञा खुकुलो भएकाले पनि कोरोना भाइरसको संक्रमण झन् बढ्न सक्ने देखिन्छ । हिजोआज शहरमा भीडभाड देख्दा कोरोना भाइरसको बारेमा कोही पनि सचेत छैनन् भन्ने भान हुन्छ । कोरोना भाइरस केही होइन, यसले केही गर्दैन भन्ने सोचाइ राखी भीडभाड गरिएको हो कि ? भन्ने अनुमान छ । भाइरसको संक्रमण दर घट्न सकेको छैन । निषेधाज्ञा हटाइएपछि भाइरसको डर हुँदैन भन्ने सोचाइ आम मानिसमा छ कि भन्ने पनि आँकलन गर्न सकिन्छ । हाल माक्सबिना नै गोप्य कुरा गर्नुपरेमा कानेखुसीसमेत गरेको देख्न थालिएको छ, दुरी कायम गर्ने कुरा झन् परै जावस्् । त्यसैले यदी तेस्रो लहर आएमा दोस्रो लहरभन्दा अवस्था भयावह हुने देखिन्छ । दोस्रो लहरको मध्यतिर अक्सिजनको व्यापक अभाव भएको थियो । बेड, आईसीयू र भेन्टिलेटर संक्रमितले सजिलै पाउन सकेका थिएनन् । शहरको भीडभाड देख्दा तेस्रो लहर आउन सक्नेमा धेरै हदसम्म जो–कोहीले अनुमान गर्न थालेका छन् । यसैलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संघ–संस्थालाई अक्सिजन, शैय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । तेस्रो लहरले बालबालिकालाई अझ बढी संक्रणम गर्ने सम्बन्धित पक्षबाट बताउँदै आएको पाइन्छ । बालबालिकालाई पनि दृष्टिगत गरी आईसीयू र भेन्टिलेटरको जोहो गर्न आग्रह गरिए पनि तयारी भने त्यस्तो भएको देखिँदैन । कोरोना भाइरसको तेस्रो लहर आयो भने दोस्रो लहर जस्तो संक्रमितले दुःख पाउने अवस्था नहोस् भनेर सम्बन्धित पक्षले बेलैमा ध्यान दिन जरुरी छ । सबैले आ आफ्नो क्षेत्रमा लापारवाही नगरी जोखिम घटाउन सहयोग गरौं ।

तपाईको प्रतिक्रिया