माधव नेपालले ओलीलाई दिए फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् ।

‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ ।’ अखिल फोर्स’ले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘संविधानको संरक्षण भएको छ । संविधानको सही ब्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं ।’

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे । उनले सही विचार आत्मसात गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न सरकारसँग माग गरे । उनले सो घटनामा संलग्नलाई कारवाही गर्न भारत सरकारको पनि गम्भिर ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया