उपचार खर्च तिर्न नसक्दा झापाकी चार महिने शिशु भारतमा बन्धक

झापा । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बंगाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ।

आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ।

शिशुलाई उपचारका लागि साउन १५ मा सिलिगुडीस्थित हस्पिटल लगिएको सनमले बताए। हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क बुझाउन दबाब दिएको थियो। खोलामा ढुंगागिट्टी चालेर जसोतसो हातमुख जोड्दै आएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको ५४ हजार रुपैयाँ लगेर बुझाएको उनले बताए। अरु रकम बुझाउन नसकेको भन्दै शिशुकी आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यलाई पैसा खोज्न पठाइएको थियो।

ऋण खोजेर थप एक लाख १५ हजार रुपैयाँ शनिबार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिलाले बताइन्। हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाई समेत पैसा खोज्न नेपाल फर्काइदिएको छ।

हाल शिशु हस्पिटलमा एक्लै छन्। ‘अहिले हस्पिटलमा चार महिनाको छोरा कसरी एक्लै आमाबेगर बसिरहेको होलारु सुरुमा एक लाख भारु ल्याउनु भन्यो, दुईपटक गरेर बुझाएकै थियौं,’ शर्मिला रुँदै भनिन्‚ ‘फेरि भारु ५० हजार ल्याउनु भन्छ, कहाँबाट ल्याउनु, मेरो छोरालाई ल्याउन सहयोग गरिदिनुहोस्।’

कोरोना महामारीले झापामा निषेधाज्ञा जारी भएका कारण चन्दा उठाउने अभियान सञ्चालन गर्न नसकिएको जनाउँदै चौधरी परिवारका छिमेकी युवा विपी भट्टराईले छरछिमेकीसँग हारगुहार गरेर ५४ हजार रुपैयाँ चन्दा संकलन गरिएको बताए।

‘स्थानीय निन्दा खोलामा ढुङ्गागिटी चालेर परिवार पाल्दै आएको चौधरी परिवारसँग हस्पिटलको बिल भुक्तानी गर्ने आर्थिक क्षमता छैन,’ उनले भने, ‘बच्चा नै बन्धक राखेर आमाबुबालाई घर पठाइदिएर हस्पिटलले गरेको अमानवीय हर्कतले चिन्तित तुल्याएको छ।’

चार महिनाको शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि सुरुमा मेचीनगरकै शिखर हस्पिटलमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विर्तामोडको अञ्जली हस्पिटल पुर्‍याइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

प्रतिष्ठानका चिकित्सकले आन्द्रा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए। त्यसबेला धरानमा चिकित्सकको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्र लैजान भनिएको शर्मिलाले बताइन्।

नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पुर्‍याउनु परेको उनले बताइन्। ‘नेपालका अस्पताल डुलाउँदा डुलाउँदै घरको र ऋण खोजेको पैसा सिद्धियो,’ शर्मिलाले भनिन्‚ ‘सिलिगुडीको अस्पतालमा भारु एक लाख तिरिसकेका छौं, अझै भारु ५० हजार ल्याऊ भन्छ, मेरो बच्चा अस्पतालमै बन्धक राखेर मलाई घर पठाइदियो, अब म के गरुँ ?’

तपाईको प्रतिक्रिया