
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर आन्दोलनरत विद्यार्थीले गलत विज्ञप्ति समेत निकाल्न भ्याए । उपकुलपति प्रा.डा सिंहविरुद्ध आन्दोनरत विद्यार्थीहरुमध्ये एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग गरी प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर समेत किर्ते गरेर विज्ञप्ति निकालिएको छ । ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिएको विज्ञप्तिमाथि यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्राममा निन्दा, घृणा र भत्सनाको टिप्पणी भइरहेको छ । भने दोषिमाथि साइबर अपराधको मुद्दा लगाउने तयारी छ । विश्वविद्यालयकै लेटरप्याड दुरुप्रयोग गरी निकालिएको विज्ञप्तिमा ‘विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा.डा सिंहको … मा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिनेछ’ भनिएको थियो । यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभइ उपकुलपतिको चरित्र समेत हत्या भएको छ । यस घटनामा को-को संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया पनि अघि बढेको छ । जिल्ला प्रशासन सुर्खेत र साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौंले यो मुद्दा हेरीरहेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी सङ्गठनले १८ बुँदै माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । त्यसमा प्रध्यापकहरुले पनि आन्दोलनको समर्थन जनाएका छन् । आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएपनि सफल हुन सकेको छैन । वार्ता गर्ने भन्दै विद्यार्थीले उपकुलपति प्रा.डा सिंहको निवास र गाडीमा समेत तोडफोड गरेका थिए । निरन्तर विद्यार्थीको आन्दोलन र अनिश्चित लाताबन्दीले असमान्य परिस्थिती सृर्जना हुदाँ विश्वविद्यालयलाई परीक्षा संचालन गर्न समेत सकस परेको छ । साउन १२ गतेदेखि संचालन गर्ने भनिएका सबै परीक्षा स्थगित छन् । गत हप्ता एक सूचना जारी गर्दै विश्वविद्यालय परीक्षा व्यवस्थापन शाखाले एक सातापछि परीक्षा संचालन गर्ने जनाएपनि अन्यौल कायमै छ । विभिन्न १८ बुँदे माग राख्दै विद्यार्थीले अनिश्चतकालिन क्याम्पस तालाबन्दीसहित आन्दोलन जारी राखेपछि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र स्नातकोत्तर तहको परीक्षा स्थगित गरिएको थियो । यसअघि संयुक्त विद्यार्थी संगठनहरुले अनलाईन परीक्षा लिनुपर्ने माग सहित १८ बुँदे माग पत्र पेश गरेका थिए । विद्यार्थीका मागमध्ये विश्वविद्यालयले अनलाइन परीक्षा संचालन गर्न नसकिने भन्दै सम्पूणर् परीक्षाहरु भौतिक उपस्थितिमै लिने तयारी गरेको छ । कोरोना संक्रमण घट्दै गएको र निषेध आदेशसमेत खुकुलो भएकोले भौतिक उपस्थितिमै परीक्षा लिने तयारी गरिएको हो ।
यता यसअघि संचालन भएको परीक्षामा कानुन संकायका प्रध्यापक विश्वनाथ यादवले विश्वविद्यालयको ऐन नियम विपरीत काम गरेको भन्दै कारवाही गरिएपछि विश्वविद्यालयका केही प्रध्यापकहरु समेत आन्दोलित भएका छन् । विश्वविद्यालयले विद्यार्थीका केही जायज मागहरु सम्बोधन गर्नुपनि पर्छ । तर आफु अनुकुल अनलाइन परीक्षा जस्ता माग सम्बोधन गर्न अहिलेको परिस्थीतिमा उत्तम छैन । गलत प्रवृती भएका केही विद्यार्थी र प्रध्यापकहरुको कारण विभिन्न बाहाना बनाई विश्वविद्यालयलाई संकटमा पार्न खोजिएको जस्तो देखिन्छ । आफ्ना मान्छेलाई जागिर दिएको, काम नगर्ने कर्मचारीलाई तलब दिएको, प्रध्यापकहरुले नपढाएरै विद्यार्थीसँग मिलेर चिट चोराई पास गराएको जस्ता विभिन्न कुरा र कारणले विश्वविद्यालयमा लफडा सृर्जना भएको हो । यतिसम्मकी केही विद्यार्थी संगठनहरुले आफ्नो भन्दापनि पाटी निकट व्यक्ति र संगठनको स्वार्थका लागि अनावश्यक मुद्दा बनाई किचलो उत्पन्न गर्ने प्रयास गरिहेको देखिन्छ । भने केही प्रध्यापकहरुले पनि विद्यार्थीलाई उचाल्दै किचलो कायम राख्ने भुमिका खेलेका छन् । त्यसो त विश्वविद्यालय प्रशासनले पनि विद्यार्थी र प्रध्यापकका जायज मागहरु समयमै सम्बोधन गर्ने प्रयत्न नै नगरेको देखिन्छ । विश्वविद्यालयलाई राम्रो बनाउन र भएका विकृती अन्त्यका लागि कुनै एक पक्षले मात्रै नभइ सबैले सकारात्मक भुमिका खेल्न जरुरी छ । होइन भने कुनै व्यक्ति तथा समूहको निश्चित स्वार्थ पुरा गर्न तथा कुण्ठा पोख्नका लागि गरिएको किचलोका कारण ठुलो दुर्घटना पनि निम्तिनसक्छ । त्यसैले अब स्वार्थ र कुण्ठा नबोकि समयमै वार्ताको माध्ययमबाट उचित निष्कर्ष निकालौं र स्थगित परीक्षा संचालन गरौं । विद्यार्थीले पढौं र भौतिक उपस्थितीमै परीक्षा दिउ । र प्रा.डा उपकुलपति सिंहको चरित्र हत्या गर्नेलाई पत्ता लगाइ कारवाही दायरामा ल्याउँ ।

नेपालीरैबार । २०७८ श्रावण २७, बुधबार