भ्याटमा दर्ता भएका ४३ प्रतिशतले बुझाउँदैनन् विवरण

नेपालमा भ्याटमा दर्ता भएका व्यवसायीहरुमध्ये ४३ प्रतिशतले वार्षिक विवरण नबुझाउने गरेको पाइएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले अर्थमन्त्रीसँगको भेटमा आर्थिक वर्ष २०७६/७७ मा वार्षिक विवरण नराख्ने व्यवसायीहरू ४२.९२ प्रतिशत पुगेको बताएका हुन् ।

व्यवसायीहरू करको दायरामा औपचारिक रूपले आबद्ध रहेको भएता पनि वार्षिक विवरण नबुझाउनेको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताए । कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेहरू आर्थिक वर्ष २०७४÷७५ मा ३३.१८ प्रतिशत र आर्थिक वर्ष २०७५÷७६ मा ३७.५३ प्रतिशत थियो ।

गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने २ लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन् ।

बिहीबार आन्तरिक राजश्व विभागको व्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजश्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्य योजना पेस गर्न निर्देशन दिएका हुन् ।

“चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस् राजश्व सङ्कलन बढाउन सकिने उपायहरू तपाई आफै फेला पार्नुहुनेछ ।” उनले भने “त्यसको लागि तपाईँलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजश्व दोब्बर बनाउने लक्षका साथ काम गर्नै पर्दछ । ”

उनले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैले कर तिरूँ तिरूँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए ।

“करदाता आफै उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस् ।” मन्त्री शर्माले अगाडि भने “हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।”

तपाईको प्रतिक्रिया