माधव नेपाल पक्षका १४ सांसदलाई सभामुखले तत्कालै नहटाउने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सा‌ंसदलाई कारबाही गरेर संसद् सचिवालयमा पत्राचार गरेका छन्। उनीहरुलाई दलको ह्विप उल्लंघन गरिएको आरोप लगाइएको छ। एमालेले कारबाही गरेको भएपनि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै उनीहरुलाई हटाउने प्रक्रिया अघि नबढाउने उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए।

‘सर्वोच्च अदालतको असार २८ को फैसलामा ह्विप नलाग्ने भनेको छ। तर, आज आएको पत्रमा ह्विप उल्लंघन गरेको आरोप लगाइएको छ। त्यसैले उहाँहरुलाई तत्कालै हटाउने सम्भावना छैन’, उनले भने, ‘कानुनी परामर्श हुन्छ। त्यसै अनुसार हुन्छ।’

दल विभाजनमा सहज हुनेगरी सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेपछि ओलीले एमालेका १४ सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयलाई पठाएका छन्।

ओलीको कारबाहीमा परेका नेताहरुमा वरिष्ठ नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।

तपाईको प्रतिक्रिया