गीत गाउँदा गाउँदै कयौंपटक पक्राउ परेका थिए जेबी टुहुरे

कुनै दिन थियो, जतिबेला गीत गाउँदागाउँदै प्रहरीले स्टेजमै गएर कलाकारलाई पक्राउ गर्ने गर्थ्यो। यस्ता दिनहरु वरिष्ठ जनवादी गायक जुठबहादुर खडगी अर्थात् जेबी टुहुरे कयौं पटक भोगे। वास्तवमा पञ्चायतको ३० वर्षीय निर्दलीय ब्यवस्थामा दलको पक्षमा आवाज घन्काउनु त्यति सहज थिएन। फेरि तत्कालीन शासकहरु आलोचना सहनै सक्दैनथे। यस्तो अवस्थामा जेबी टुहुरेजस्ता जनवादी गायकले गीत गाएको निहुँमा कारावासको सजाय भोग्न बाध्य हुनुपर्थ्यो। २०७५ सालमा रेडियो नेपालमा संविधान दिवसका दिन राष्ट्रिय जागरण गीत सम्मेलनको उदघाटन समारोहका बेला जेबी टुहुरेलाई अतिथिका रुपमा गाउन आमन्त्रण गरिएको थियो। त्यतिबेला उनले गाएका थिए-

फेरि हामी एकचोटी उठनुपर्ने भयो

देशभक्त सबै जुटनुपर्ने भयो

सो कार्यक्रममा नेपाल प्रहरीको समूहले गाएको थियो

हिमालको हाँसो, तराईको आँगन, पहाडको सिरानी

नेपाल मेरा चारकिल्ला भित्र कोही छैन बिरानी

यसरी एउटै मञ्चमा प्रहरीसँग गाउन पाउँदा जेबी टुहुरे दङ्ग परे। उनले मन्त्तब्यका क्रममा मुलुक परिवर्तन गर्न पहिले जनवादी गीत गाउँदा पक्राउ परेपनि अहिले सुरक्षाकर्मीसँग मिलेर परिवर्तनका गीत गाउँदा खुसी लागेको बताएका थिए।

लामो समय जनवादी गीत गाएर जीवन बिताएका जेबी टुहरेजस्ता श्रष्टाको मुलुकमा राजनीतिक परिवर्तन ल्याउनमा ठूलो भूमिका रहेको छ। चाहे ३० वर्षे लामो पञ्चायतको अन्त्यका सन्दर्भ होस् वा मुलुकमा गणतन्त्र स्थापनामा श्रष्टाहरुको जागरण गीत संगीतले सर्वसाधारणहरुलाई जागरुक बनाउँदै लगेको थियो। पहिले कलाकारको गीत सुन्न गाएर जम्मा भएका दर्शक माझ नेताले गएर भाषण दिने प्रचलन हिजो आज पनि चुनावका बेला देखिन्छन्।

बहुदलीय ब्यवस्था नै प्रतिबन्धित भएको अवस्थामा गाउँगाउँमा गएर क्रान्तिकारी गीत गाउनु त्यति सहज कहाँ थियो र? एकपटक पक्राउ परिसकेपछि प्रहरीहरु घरमै खोज्दै आएका घटना जेबी टुहुरेले कति भोगे कति त्यसको लेखाजोखा गरेर साध्य छैन। तर त्यति कठिनका साथ ल्याएको परिवर्तन पछि राजनीति गर्ने मानिसहरु सिँढी चढ्दै गए भने यस्ता श्रध्टाहरु दिन दिनकै भान्सा कसरी टार्ने भन्ने समस्यामै रुमलिरहनुपरेको अवस्थामै गुजरिरहे।

यस्ता श्रष्टा जेबी टुहुरेले विगतमा कम्युनिष्टको गीत गाँउदै हिँडने भनि आरोप लगाउनेहरु पनि आज उनले गाएका गीत वास्तवमा कम्युनिष्टको मात्र नभई हाम्रै समाजकै यथार्थ चित्र रहेछ भनि प्रसंशा गर्ने गरेको सुनिन्छ। ३०औं वर्षअघि अर्कै राजनीतिक परिस्थितिमा जेबी टुहुरेले गाएको गीत आज पनि सान्दर्भिक हुनु यस्को गतिलो प्रमाण हो।

आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई

सुखको सधैं प्यासी बनेर।

आफ्नै पौरख खान्छनआफ्नै सीपमा बाँच्छन् दुःख कष्ट सहेर

सृष्टि यिनले थाम्छन्

असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन्

ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन्, तर पनि अँध्यारोमा जीवन बिताउँछन्।

नेपाली समाजमा बसाईँ सर्ने क्रम आज पनि जारी रहेको छ। मानिसहरु अरबको खाडीमा काम गर्न गइरहेका छन्। अमेरिका, युरोप वा अष्ट्रेलिया जाने नेपालीहरुको संख्या दिनहुँ बढिरहेको सन्दर्भमा उनले कति दशकअघि गाएको गीत आज पनि सान्दर्भिक बनेको पाइन्छ।

बसाईँ हिँड्नेको ताँतीले

बस्नेको मन रुवाउँछ

लाखौँको लागि उजाड यो दिल

मुठीभरलाई त स्वर्ग छ

मुठीभरलाई त स्वर्ग छ।

२०२४ सालदेखि निरन्तर सांगीतिक क्षेत्रमा लागेका सुनसरीको धरानका जेबी टुहुरेले १ सय ५० जति गीत रेकर्ड गराएका थिए जुन आज पनि कर्णप्रिय मानिन्छन्।

आफूलाई साँच्चिक्कै टुहुरो महसुस गरी उनले आफ्नो उपनाम टुहुरे राख्न पुगेका जेबी टुहुरे पहिले नेकपा एमालेमा आबद्ध थिए। उनलाई दोस्रो संविधान सभामा तत्कालीन नेकपा माओवादीले सदस्य बनाएको थियो। यसअघि उनी नेपाल सरकारको सांस्कृतिक संस्थानमा पनि अध्यक्ष भएका थिए। तर त्यो कार्यकारी पद नभएकाले उनले राष्ट्रिय नाचघरमा खासै कार्य गर्न पाएनन्।

वरिष्ठ जनगायक जेबी टुहुरे अब हामी माझ रहेनन्। उनको योगदानलाई अमर बनाउने प्रयास उनको जीवनकालमै हुनु अर्को महत्वपूर्ण पक्ष मान्न सकिन्छ।

उनको नाममा स्थापित जेबी टुहुरे फाउण्डेसनको भवन सुनसरीको इटहरी उपमहानगरपालिकामा बनिरहेको छ। नेपाली संगीतको क्षेत्रमा झण्डै आधा शताब्दी अघिदेखि सेवारत टुहुरेका नाममा २०७५ सालमा फाउण्डेसन स्थापना गरिएको थियो।

उपमहानगरपालिकाले उपलब्ध गराएको १० कठ्ठा क्षेत्रफलको जग्गामा भवनको फाउण्डेसनले भविष्यमा प्रतिभा भएका तर गरिबीले गर्दा उजागर गर्ने मौका नपाएकाहरुलाई सांगीतिक क्षेत्रमा मद्धत गर्ने लक्ष्य राखेको छ।

वरिष्ठ श्रष्टा जेबी टुहुरेको योगदानलाई चीर स्थायी बनाउन यस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ।

//nepalnews//

तपाईको प्रतिक्रिया