पश्चिम सुर्खेतको दुर्दशा

सडकका नाममा सधैँ राजनीति, नागरिकलाई बाह्रै महिना सास्ती

सुर्खेत। पश्चिम सुर्खेतको चौकुने गाउँपालिकादेखि वीरेन्द्रनगर आउन गाडिमा पनि पुरै एकदिन लाग्छ । सडक दुरीका हिसाबले त्यहाँबाट गाडिमा वीरेन्द्रनगर आउन बढीमा साढे तीनदेखि चार घण्टा लाग्नुपर्ने हो । बिहान नौ बजे गाडिमा हिँडेका चौकुनेका यात्रु वीरेन्द्रनगर बेलुकी मात्रै पुग्छन् । त्यो पनि मुस्किलले । पञ्चपुरीका तेज रोकायका अनुसार सडक राम्रो भए गुठुबाट वीरेन्द्रनगर आउन ढिलोमा पनि तीन घण्टाभन्दा बढी समय नलाग्ने बताउँछन् । तर, अहिले गुठु–वीरेन्द्रनगर सडक खण्डमा करिब आठ घण्टा लाग्छ ।

पञ्चपुरी नगरपालिका–५ बाबियाचौरका यादव पौडेलले नजिकको दुरीमा पनि बिहान गाडी चढ्यो भने साँझ मात्रै पुग्ने गरिएको बताए । ‘यहाँ त सडक नामको मात्रै छ,’ उनी भन्छन्, ‘पश्चिमका सडकले सुविधाभन्दा सास्ती धेरै दिएका छन् ।’ यस क्षेत्रमा धेरैजसो सडक पुरानै छन् । मर्मत–सम्भार नहुँदा नागरिकहरू बाह्रै महिना कष्टकर यात्रा गर्न बाध्य भएका हुन् । सडक सुधारमा तीनै तहका सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । पौडेलले भने, ‘पश्चिमका बासिन्दालाई सडकका दुःख त छँदैछन् स्वास्थ्य, शिक्षा, खानेपानी र बिजुलीजस्ता अन्य सुविधाको हालत पनि उस्तै छ ।’

विकास ओसार्ने मुख्य माध्यम सडककै हालत बिजोग भएपछि पश्चिम सुर्खेतको समग्र विकासमा बाधा भइरहेको छ । सडक पूर्वाधार भरपर्दो नहुँदा अरु विकास निर्माणमा पनि असर पुगेको हो । सडक स्तरोन्नतिमा ध्यान नदिँदा यस क्षेत्रका नागरिकले वर्षाैंदेखि सास्ती भोग्नु परिरहेको छ । यहाँका सबैजसो सडक कच्ची छन् । जसले गर्दा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । अधिकांश सडक खण्डमा वर्षात्को समयमा गाडि नै चल्दैनन् । एम्बुलेन्ससमेत चल्ने अवस्था नभएपछि बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । पश्चिमको सडक समस्या नयाँ होइन । हरेक तहका निर्वाचनमा नेताहरूका लागि यिनै सडक प्रमुख एजेण्डा बन्छन् । झन्डै तीन दशकदेखि यस क्षेत्रमा सडक राजनीति चलिरहेकै छ । चुनावताका खुबै चर्चा हुने सडक सुधार भने कहिल्यै हुँदैन । भोट माग्दा प्राथमिकताका साथ प्रतिवद्धता जनाइए पनि त्यसपछि यो विषय विस्तारै ओझेल पर्छ ।

वि.सं. २०५० सालमा बड्डिचौर–बेनिघाट सडक निर्माणको काम थालिएको थियो । यो सडक निर्माण सुरू गरेकै २८ वर्ष भइसकेको छ । तर, त्यस क्षेत्रका बासिन्दा अझै यातायातको सहज पहुँचमा छैनन् । ग्राभेल मात्र गरिएको उक्त सडकमा नियमित गाडि गुड्दैनन् । यात्रुले डोरी लगाएर गाडि तान्नुपर्ने, धकेल्नुपर्ने र ढुङ्गा हालेर पास गराउनुपर्ने हैरानी छ । खोलामा पानीको बहाव बढ्दा घण्टौंसम्म कुर्नुपर्छ । अहिले त्यही सडक मदन भण्डारी राजमार्ग परेको छ । बड्डिचौरदेखि लगामसम्म ९४ किलोमिटर रहेको यो खण्डमा ५० मिटर चौडा सडक बनाउने भनिएको छ । सडकको अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कन ‐ईआईए) समेत भएको छैन । राजमार्गमा परेपनि सडक सुधार–विस्तारको कामले गति लिन नसकेको हो ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले संघीय सरकारकै ढिलासुस्तीका कारण सडक समस्या उस्तै ररिरहेको बताए । संघ र प्रदेश सरकारसँग स्थानीय तहले बारम्बार सडक सुधारका लागि पहल गरिरहेको उनले जनाए । माथिल्लो तहका सरकारले सुरू गरेका सडक योजना समयमै सम्पन्न नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले समस्या झेल्दै आएका छन्,’ उनले भने, ‘सरकारले यहाँको सडक निर्माणलाई प्राथमिकता नै दिएको पाइँदैन ।’ मदन भण्डारी राजमार्ग नामाकरण भएपछि डीपीआर मात्रै निर्माण भएको छ । ईआईए गर्नमै अझै दुई वर्ष लाग्ने भएकाले सडक निर्माणमा ढिलाइ हुने देखिएको नगरप्रमुख थापा बताउँछन् । प्रदेश सरकारसँग पञ्चपुरी–३ खम्मगाडेदेखि गुठुसम्मको सडकका लागि बहुवर्षिय योजना सञ्चालन गर्न बजेटको पहल भइरहेको उनले जनाए ।

त्यस्तै, पश्चिम सुर्खेतबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य बिन्दमान विष्टले चालु आर्थिक वर्षमा बड्डिचौरदेखि बाबियाचौरसम्म सडक सुधार गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिए । उनका अनुसार यो सडक खण्डको स्तरोन्नतिका लागि अबको एक महिनामा टेन्डर गर्ने तयारी भइरहेको छ । त्यसका लागि कर्णाली सरकारले १० करोड बजेट विनियोजन गरेको र अपुग भए बजेट थप गर्न सकिने समेत विष्टले बताए । उनले मदन भण्डारी राजमार्ग आयोजनासँग पनि सडक निर्माणलाई गति दिन पहल भइरहेको जनाए ।

याे समाचार साझा बिसौनी दैनिकमा छ । 

तपाईको प्रतिक्रिया