सुर्खेत । नेपाली कांग्रेसको आगामी मंसिरमा हुने १४औं महाधिवेशनको रौनक बढेको छ । वडा अधिवेशन सुरु भएसँगै महाधिवेशनको माहोल थप तातिएको हो । शुक्रवारदेखि गाउँ तथा नगरपालिकाका वडातहको अधिवेशन सुरु भएको हो । भदौ २३ गतेभित्र सबै वडाको अधिवेशन सक्ने गरी शुक्रवारदेखि सुरु गरिएको हो । कर्णाली प्रदेशका दशमध्ये पाँच जिल्लामा शुक्रवार अधिवेशन भएको छ । जाजरकोट, जुम्ला, दैलेख, मुगु र हुम्लाका सबै वडामा अधिवेशन भएका छन् । जाजरकोटका जिल्ला सभापति दिपकजंग शाहले ७७ वटै वडामा अधिवेशन भएको जानकारी दिए । उनले धेरैजसो वडामा निर्विरोध वडा समिति चयन गर्नुका साथै प्रतिनिधि छनौट गरिएको जनाए । उनले भने, ‘जाजरकोटमा सबै वडामा शुक्रवार नै अधिवेशन भएको छ । अब पार्टीको महाधिवेशन सुरु भयो भन्ने लागेको छ ।’
दैलेखको महाबु गाउँपालिका वडा नं. ४ मा शुक्रवार भएको वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरू
दैलेखमा पनि शुक्रवार नै सबै वडाको अधिवेशन भएको छ । जिल्ला सभापति कृष्ण बिसीले ९० वटै वडामा निर्बाध रूपमा अधिवेशन भएको जानकारी दिए । जुुम्लाका सभापति दीपबहादुर शाहीका अनुसार जिल्लाका ६० वटै वडामा अधिवेशन भएका छन् । पाँच जिल्लाका वडा अधिवेशन शुक्रवार नै भए पनि प्रदेशका अन्य तीन जिल्लाको वडा अधिवेशन भने २३ गतेभित्र गरिसक्ने कार्यतालिका छ । सल्यानमा भदौ २१ गते, कालिकोटमा २२ र रुकुमपश्चिममा २३ गते वडा अधिवेशन गर्ने गरी तयारी गरिएको छ । अधिवेशनको लागि आवश्यक तयारी भने गरिसकिएको जनाइएको छ ।
सुर्खेत र डोल्पामा अनिश्चित
कर्णालीका १० जिल्लामध्ये दुई जिल्लाका वडाको अधिवेशन भने अनिश्चित बनेको छ । अन्य जिल्लामा धमाधम वडा अधिवेशन भइरहँदा सुर्खेत र डोल्पाको अधिवेशन अनिश्चित बनेको हो । सुर्खेत र डोल्पामा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित भएको हो । अन्य आठ वटा जिल्लामा भनेर निर्वाचन अधिकृत तोकेर वडा अधिवेशनको काम सुरु भए पनि दुई जिल्लामा सदस्यता विवाद कायमै छ । विवादकै कारण क्रियाशील सदस्यहरूको अन्तिम नामावली समेत सार्वजनिक हुन सकेको छैन ।
सुर्खेतका सभापति कमलराज रेग्मीले केन्द्रका कारण सदस्यता विवाद हुँदा वडाका अधिवेशन अनिश्चित बनेको बताए । सबै वडाबाट सर्वसम्मतिबाट सदस्यता टुङ्गाएर पठाउँदा पनि केन्द्रले नियमावली विपरीत थप गरेको र पठाएका सबैलाई सदस्यता नदिएको उनको आरोप छ । ‘सबैको सदस्यता टुङ्गो लगाएर सर्वसम्मत् रूपले निर्णय गरेका पठाएका थियौँ’ उनले भने, ‘नेपाली कांग्रेसका सदस्यले हुन् भनेर वडाले पठाउँदा पनि केन्द्रले सदस्यता दिएको छैन, प्रक्रिया पु¥याएर पठाइएकाहरूको सदस्यता दिनुपर्छ भन्ने हाम्रो माग हो ।’ सुर्खेतबाट ११ हजार नौं सय ५३ जना क्रियाशील सदस्यता पठाएकोमा त्यसमध्ये सात सय ६ जनाको स्थगित गरिएको रेग्मीले जानकारी दिए । केन्द्रले नामावली प्रकाशन नगरेसम्म वडा अधिवेशन अनिश्चित बनेको छ ।
डोल्पामा पनि सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित बनेको हो । पुरानो एक हजार तीन सय ८७ सदस्य भएकोमा उही संख्याको हाराहारीको निर्णय गरेर क्रियाशील सदस्यहरूको नाम पठाए पनि केन्द्रबाट आठ सय ८७ जनालाई मात्र क्रियाशील सदस्यता दिएको नामावली आएपछि विवाद भएको हो । जिल्ला सभापति अंगत बुढाले कांग्रेस बन्छु भनेर निवेदन दिएकालाई सजिलै सदस्यता दिनुपर्नेमा जिल्लाले सिफारिस गरेर पठाएकालाई पनि नदिइएको गुनासो गरे । केन्द्रले नै विवाद सिर्जना गरेको भन्दै उनले जतिसक्दो छिटो सदस्यता विवाद सुल्झाउनुपर्ने बताए । ‘वडा अधिवेशन कहिले हुन्छ, अहिलेसम्म अनिश्चित नै छ’ बुढाले भने, ‘समस्या केन्द्रले निम्त्याएको हो, थप सूचना पनि केही पठाएको छैन ।’
यस्तो छ कार्यतालिका
वडा अधिवेशन सम्पन्न भइसकेपछि अरु तहका अधिवेशन हुने र अन्तिममा महाधिवेशन हुने छ । वडा सकिएपछि गाउँ÷नगर, क्षेत्र, जिल्ला र प्रदेशमा अधिवेशन हुुनेछ र त्यसपछि मात्रै राष्ट्रिय महाधिवेशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार भदौ २७ गते गाउँ÷नगर समितिको अधिवेशन हुनेछ । त्यसपछि असोज १ गते प्रदेश निर्वाचन क्षेत्र, असोज ५ गते प्रतिनिधिसभाको निर्वाचन क्षेत्रस्तरीय हुनेछ भने असोज १० गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । कार्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन र मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा हुनेछ ।
याे समाचार साझा बिसौनी दैनिकमा छ ।
पत्रपत्रिका । २०७८ भाद्र १९, शनिबार