सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भइरहेको वडा अधिवेशनमा दैलेखका ९० वडामध्ये ८५ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा सभापतिदेखि सिंगो कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएका छन् । बाँकी १५ वडामा पनि सहमतिको प्रयास भइरहेको छ । वडामा सर्वसम्मत रुपमा नेतृत्व छनौट हुँदा जिल्ला नेतृत्वका लागि भने आधा दर्जन आकांक्षी छन् ।

पार्टी सचिव भूपेन्द्रबहादुर शाही, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, मनिराम रेग्मी र गणेश उपाध्याय जिल्ला सभापति बन्ने दाउमा छन् । यस्तै जुम्लाका ६० वडामध्ये ५९ वडाको नेतृत्वसहित सम्पूर्ण कमिटीमा सर्वसम्मत नेतृत्व निर्वाचित भएका छन् । तातोपानी गाउँपालिका वडा नं. ७ मा सर्वसम्मतिको प्रयास गर्दागर्दै निर्वाचन गराउनुपर्ने अवस्था आएको थियो ।
सदुरमुकामदेखि टाढाको दुरी भएका कारण नेताहरु गाउँपालिकामा पुग्न सकेनन् । यहीँकारण तातोपानी गाउँपालिकाको वडा नं. ७ मा चुनाव भयो । वडामा सर्वसम्मत पदाधिकारी छनौट भइरहँदा जुम्लामा पनि जिल्ला नेतृत्वका लागि भने चुनाव हुने निश्चित छ । जिल्ला सभापतिका लागि बहालवाला पार्टी सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही र चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल लगायतका नेताहरु दौडधुपमा छन् । जाजरकोटका ७७ वडाको नेतृत्व सर्वसम्मत छानिएका छन् ।
७५ वडामा एकै दिन नेतृत्व छानिएका हुन् । कुसे गाउँपालिकाको वडा नं. ८ नलगाड नगरपालिकाको वडा नं. ८ मा नेताहरुको हरप्रयासपछि मात्रै नेतृत्व सर्वसम्मत रुपमा छनौट भएका छन् । त्यहाँ पनि जिल्ला नेतृत्वका भने हानाथाप नै हुने अवस्था छ ।
जिल्ला सभापतिका लागि नेताहरु सर्पराज रावत, सनतकुमार कार्की, वेदराज सिंह, मुक्तिप्रसाद आचार्य, इलमबहादुर शाही, खडक विसी र महेन्द्रबहादुर शाह लगायत दौडधुपमा छन् । हुम्लाको ४४ वडामध्ये हालसम्म ३७ वडाको नेतृत्वसहित पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन् ।
बाँकी चार वडामध्ये तीन वडामा दुरी टाढा भएका कारण आज (सोमबार) मात्रै निर्वाचन हुने छ। चंखेली गाउँपालिका वडा न. ४ मा भने समयमै मतदान अधिकृत नपुग्दा निर्वाचन गराउन ढिलाई भएको छ । निर्वाचन हुन बाँकी तीन वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व छनौटको प्रयास भइरहेको छ । वडाको नेतृत्व सर्वसम्मत गरिए पनि जिल्ला नेतृत्वमा भने आकांक्षिहरु धेरै छन् ।
जिल्ला सभापतिका लागि मोहनविक्रम सिंह, पदमबहादुर लामा, कर्ण रावल, थानबहादुर रोकाया, मंगलबहादुर शाही लगायतका नेताहरु आकांक्षि छन्। निर्वाचन भइरहेका चार जिल्लामा एकाध बाहेक सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व छानिएका छन् । हालसम्म जुम्लाको एउटा वडा बाहेक अन्य वडामा सर्वसम्मत नेतृत्व छानिएका छन् ।
वडाअधिवेशनलाई आधार मान्ने हो भने साना पदमा कांग्रेसले मिलिजुली पार्टी नेतृत्व छनौट गरेको छ । तर जिल्ला नेतृत्वका लागि भने हातथाप नै हुने अवस्था देखिन्छन् । निर्वाचन भएका जुम्ला, हुम्ला, दैलेख र जाजरकोटमा पनि स्थानीय, प्रदेश, क्षेत्रिय र जिल्लादेखि केन्द्रीय अधिवेशनसम्म नेतृत्वका लागि सर्वसम्मत नेतृत्व छानिने सम्भावना न्यून छ ।
त्यहाँ स्थानीय तहदेखि जिल्ला नेतृत्वका आकांक्षिहरु धेरै छन् । ठूलो स्थानीय तहको नेतृत्व पनि सर्वसम्मत छनौट गर्ने कांग्रेसको दाबी छ । ‘आफै आफै लडेर सकिनुभन्दा पालिका तहमा पनि सर्वसहमतिले नेतृत्व छान्ने प्रयास गरिरहेका छौं’ नेपाली कांग्रेस जुम्लाका पार्टी सभापति दीपबहादुर शाही भन्छन्, ‘निर्वाचनमा गए पार्टीलाई नै क्षति पुग्छ भनेरै क्षमताको आधारमा नेतृत्व छान्ने प्रयास गरिरहेका छौं ।’ सुर्खेतबाट प्रकाशित युगआह्वान दैनिकमा समाचार छ ।










पत्रपत्रिका । २०७८ भाद्र २१, सोमबार